जागरण अभियानका क्रममा चितवनमा कांग्रेसले निकालेको र्याली।
काठमाडौं- बैसाख ३ मा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जागरण अभियानमा कांग्रेसका उद्देश्यबारे प्रस्ट्याउँदै भनेका थिए, ‘नेपाली कांग्रेसको सदस्यता विस्तार र वितरण व्यापक गरिनेछ।’
दोस्रो चरणको अभियान सकिँदासम्म प्रवक्ता शर्माको यो भनाइ ‘यो त आखिर भन्ने कुरा न हो’ मा सीमित भएको छ। पार्टी संरचना गठनका लागि भर्खर पाइला सारेको कांग्रेसले सदस्यता वितरणको तहसम्म पुग्ने अवस्था थिएन। महाधिवेशनको कार्यतालिका सार्वजनिक नहुन्जेल सदस्यता वितरणले गति लिन सक्ने देखिँदैन।
कांग्रेसको जागरण अभियानको थप उद्देश्यमा पार्टीको केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, गाउँ/नगर टोलसम्म व्यापक ढंगले प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको थियो। उक्त उद्देश्य सीमित प्रदेशमा गरेर अड्किएको छ। यसबीचमा कांग्रेसले प्रदेश स्तरको प्रशिक्षण कर्णाली, प्रदेश ५ र गण्डकीमा सकाएको छ। प्रदेश ३ का दुई स्थानमा प्रशिक्षण तय गरिए पनि भक्तपुरमा मात्रै सकिएको छ। बाँकी प्रदेशमा कहिले प्रशिक्षण हुने भन्ने टुंगो छैन।
सकिएका प्रशिक्षण महाधिवेशन प्रतिनिधिहरुका लागि मात्रै थियो। जागरण अभियानको क्रममा जिल्ला, क्षेत्र, गाउँ/नगर टोलसम्म व्यापक रुपमा सञ्चालन गर्ने भनिएको प्रशिक्षण हुनै सकेन। विदेशस्थित जनसम्पर्क समितिहरुका लागि डेनमार्कमा गरिएको प्रशिक्षणमा भने कांग्रेसको जम्बो टोली पुगेको थियो। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षणको अगुवाइ गर्दै आएको छ।
'महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानको व्यापक ढंगले सुसूचित गर्ने उद्देश्य कति पूर्ति हुन सक्यो त?' कांग्रेसका लागि प्रश्न तेर्सिएको छ। महासमितिका बहुसख्यंक प्रतिनिधिको भावनामा केन्द्रीय समितिले ‘चोट पुर्याएपछि’ पार्टीमा विवाद यथावत् छ।

केन्द्रीय सदस्य तल्लो तहबाट चयन भई महाधिवेशन प्रतिनिधि बन्नुपर्ने र आरक्षणको सुविधा एकपटक मात्रै प्राप्त गर्ने महासमितिको मतलाई उल्ट्याइदिएको थियो। केन्द्रीय नेता, जिल्ला सभापति तथा महाधिवेशन प्रतिनिधि नै केन्द्रीय समितिले गरेको प्रावधानप्रति असन्तुष्ट छन्। असन्तुष्ट रहेको प्रावधानलाई तल्लो तहमा पुर्याउँदा प्रभावकारिता नहुनु स्वाभाविक हो।
असन्तुष्टिको मानसिकता बोकेर क्षेत्रमा खटिएका प्रतिनिधिले ‘महासमितिको निर्णयलाई व्यापक प्रचार गर्ने’ उद्देश्यबीचमा तादाम्यता राख्दैन। कपिलवस्तुको क्षेत्र नम्बर ३ ‘ख’मा खटिएकी निमा गिरीले भनिन्, ‘महासमितिको निर्णय किन उल्ट्याइएको भन्दै प्रश्न आउँछ।’
जागरण अभियानका क्रममा प्रतिनिधिलाई सरकारको विरोधमा मात्रै केन्द्रित हुनेगरी कार्यादेश दिइएको थियो। सीमित क्षेत्राधिकारसहित प्रतिनिधिलाई खटाइएको थियो।
प्रदेशसभामा खटिएका प्रतिनिधिहरुका लागि ५ बुँदे निर्देशनः
-
बढ्दो महँगीका विरुद्ध।
-
भ्रष्टाचार (वाइड बडी, न्यारो बडी प्रकरणलगायत) का विरुद्ध।
-
बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध।
-
अलोकतान्त्रिक विधेयकहरुका विरुद्ध।
-
कम्युनिस्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध।
केन्द्रका निर्देशनअनुरुप जागरण अभियान विशेषतः वर्तमान सरकारको विरोधमा केन्द्रित भएको प्रतिनिधिहरुले प्रतिक्रिया दिएका छन्।
नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिक विश्लेषक जुगल भुर्तेल पार्टीको ‘टाउको’ (नेतृत्व) सबैभन्दा पहिले जागरण हुनुपर्ने बताउँछन्। कांग्रेसका तल्लो तहका कार्यकर्ताले नेतृत्वलाई सोच्ने तरिकाबारे उनी भन्छन्, ‘महाधिवेशन सबैलाई लागेजस्तो प्रतिस्पर्धा छ। नेतृत्वको तयारीमा अभियानलाई लिएका छन्। जागरण त पार्टी नेतृत्वलाई आवश्यक छ।’

तीन चरणमा जागरण अभियान गर्नेगरी कार्यतालिका बनाएको कांग्रेसले दोश्रो चरणको १५ दिने अभियान मंगलबार सकेको छ। जिल्ला तहबाट अभियानलाई विस्तार गरी प्रदेश निर्वाचन क्षेत्रमा पुर्याइएको थियो। ‘कम बोल्ने, धेरै सुन्ने’ कार्यनीति केन्द्रले प्रतिनिधिलाई निर्देश गरेको थियो।
३ सय ३० प्रदेश सभास्तरमा खटिएका प्रतिनिधिले सरकारसँगको असन्तुष्टिसरह नै पार्टीप्रतिको गुनासो सुनेका छन्। प्रतिपक्षीय भूमिका कमजोर रहेकोसँगै कांग्रेस कमजोर हुनुको दोष पार्टी केन्द्रले लिनुपर्ने आम कार्यकर्ताको भनाइ छ। स्याङ्जा क्षेत्र नम्बर २ ‘क’ मा खटिएका गुरु बरालले भने, ‘सरकार असफल भएको आम बुझाइ छ। पार्टी नेतृत्वलाई चुस्त-दुरुस्त बनाउन,वादविवाद नगर्न, गुटगत स्वार्थबाट माथि उठ्न आग्रह गरिएको छ।’
कांग्रेसमा सिर्जित समस्या कार्यकताबाट नभई नेताहरुबाट भएको तल्लो तहको बुझाइ छ। कार्यकर्ताको गुनासो शीर्ष नेताहरुलाई सुनाउँदै उनले भने, ‘हामी तल ठिक छौं। माथि मिल्नुस्।’
बागलुङ क्षेत्र नम्बर २ ‘क’ मा प्रतिनिधिका रुपमा खटिएका विष्णु पौडेलको प्रतिक्रिया पनि बरालको जस्तै छ। सरकार र पार्टी दुवैतिर प्रश्न उठेको उनले सुनाए। उनले भने, ‘चुनावपछि नेताहरु गाउँमा कम गएको, दुई तिहाइको सरकारको प्रलोभनलाई पार्टीले चिर्न नसकेकोजस्ता गुनासो स्थानीय स्तरबाट आएका थिए।’
पहिलो चरणको अभियानमा केन्द्रीय नेताहरु नै प्रतिनिधि बनेकाले जागरण अभियानका समाचारले तुलनात्मक रुपमा बढी प्राथमिकता पाएका थिए। कपिलवस्तु क्षेत्र नम्बर ३ ‘ख’ की प्रतिनिधि गिरीले आम कार्यकर्तासँग जोडिनने सवालमा जागरण अभियान सफल भएको दाबी गरिन्। उनले भनिन्, ‘निर्वाचनपछि पहिलोपटक कांग्रेस कार्यकर्ता र जनताबीच आएको भन्दै खुसी व्यक्त गरे।’
वैचारिक स्थिरता र सिद्धान्तको संकट कांग्रेसमा खड्किएको विश्लेषक भुर्तेलको बुझाइ छ। संसारभर उदार लोकतन्त्रमाथि प्रहार भइरहेको बताउँदै भुर्तेलले भने, ‘लोकतान्त्रिक बाटोबाट सत्तारोहण गरेको शक्तिले लोकतन्त्रमाथि प्रहार गरेको छ।’

प्रहारको केन्द्रबिन्दुमा प्रतिपक्ष दल भए पनि त्यसलाई चिर्न कांग्रेसले नसकेको उनले दाबी गरे। कांग्रेसभित्रै देखिएको सैद्धान्तिक संकटको प्रतिवाद गर्न नसकेको तथा सिद्धान्तमा स्पष्ट नभएको नेतृत्वले सञ्चालन गरेको अभियानले आशातीत लाभ दिन नसकेको उनको निष्कर्ष छ।
जागरण अभियानले पार्टी र जनतालाई जोड्नका लागि केही हदसम्म सफलता प्राप्त गरे पनि कांग्रेसभित्रको संकट भने ज्यूँकात्यूँ छ। आइपर्ने चुनौतीलाई सामना गर्न सक्ने क्षमता जागरण अभियानले दिइसकेको छैन। कांग्रेस नेता लोकेश ढकाल भन्छन्, ‘वैचारिक बहस घनीभूत हुन सकेको छैन। कांग्रेस कसको कारण कहाँकहाँ चुक्यो? त्यसमाथि बहस हुनुपर्छ।’
विगतका गलत बाटो सच्याउने काम नेतृत्वबाट नभएकाले जागरण अभियानले उर्जा दिएको मान्न नसक्ने उनको ठम्याइ छ। जनतासँगको नाता जोड्नका लागि नीति र नेतृत्व सच्चिनुपर्ने ढकालको धारणा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।