विदेशमा श्रम स्वीकृति लिँदा अब अनलाइनबाटै बिमाशुल्क बुझाउन सकिने

नेपाल लाइभ | २०७६ असोज ५ आइतबार | Sunday, September 22, 2019 २०:१४:०० मा प्रकाशित

काठमाडौं- बिमा समितिले विदेशबाटै श्रम स्वीकृति लिएर काम गर्न चाहने नेपाली नागरिकले आफ्नो बिमा शुल्क अनलाइनबाट तिर्न मिल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

वैदेशिक रोजगारीमा जाने प्रत्येक नेपालीले आफ्नो जीवन बिमा गर्नुपर्ने भएकाले विदेशबाटै श्रम स्वीकृति नवीकरण गरेर काम गर्ने नेपालीलाई अफ्ठेरो परेको भन्दै समितिले अनलाइन भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो।

समितिले नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई यस्तो निर्देशन दिएको हो।

समितिको निर्देशनअनुसार अब ती बिमा कम्पनीले विदेशबाटै श्रम स्वीकृति नवीकरण गरेर काम गर्न चाहने नेपालीले आफ्नो बिमा बापतको रकम अनलाइन भुक्तानी दिन सक्ने व्यवस्था मिलाउनुपर्नेछ। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेशमा रहेका नेपालीले सम्बन्धित मुलुक हेर्ने कुटनीतिक नियोगबाट बढिमा २ पटक श्रम स्वीकति लिन सक्नेछन्।