बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र, संघीयता र धर्म निरिपेक्षता असफल भइसकेको दाबी गरेका छन्। उनले देशका लागि अब राप्रपाले लिएको हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो भएको बताएका छन्।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनद्वारा बुटवलमा आयोजित केन्द्रीय परिषद् बैठकको समुदघाटन समारोहमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्म निरिपक्षेताबाट देश बनाउछौं भन्ने र धर्म संस्कृतिलाई नष्ट गरेर मात्र देश बन्ने मान्यता राख्नेहरु असफल भइसकेको दाबी गरे।
अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्टले विगत १२ वर्षदेखि देशलाई गलत बाटोबाट हिँडाएको र हालकै बाटोलाई निरन्तरता दिने हो भने देश असफल राष्ट्रको रुपमा पुग्ने ठोकुवा समेत गरे।
थापाले युवाहरुको रगत र पसिना निर्यात गरेर र नेपाली युवाहरुलाई मलेसिया तथा अरबको मरुभूमिमा पठाएर देशले समृद्धि हासिल गर्न नसक्ने तर्क गरे। देशमा लुटतन्त्र चलेको, भ्रष्टाचार बढेको सुन काण्ड, वाइडबडी काण्ड, बालुवाटारको जग्गा काण्ड लगायतका अनियमितता र भ्रष्टाचारमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षको समेत संलग्नता र सहमति हरेको आरोप समेत उनले लगाए।
गणतन्त्र ल्याउन विदेशी खुफिया एजेन्सीले देशको प्रधानमन्त्री भइसकेको र सत्तारूढ पार्टीको अध्यक्ष रहेका व्यक्तिलाई प्रयोग गरिएको भन्ने पुस्तकमार्फत सार्वजनिक हुनु नेपालीको शीर निहुरिने विषय भएको बताउँदै अध्यक्ष थापाले यस विषयमा संसदीय छानबिनको मागसमेत गरे।
राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डालाई कठिन घडीमा पनि बोकेर हिडेको हुँदा एजेन्डाको विषयमा राप्रपालाई शंका नगर्न आग्रह गरे। 'आफूहरूको नियतमाथि शंका गरिँदा पीडा हुन्छ,' उनले भने।
समुद्घाटन समारोहमा राप्रपाका वरिष्ठ नेता दिपक बोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष प्रेम बहादुरी भण्डारी, राप्रपा प्रदेश ५ का अध्यक्ष प्रदिप कुमार उदय, राप्रपाका सहमहामन्त्री राजेन्द्र वीर राय, युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, सचिव हिक्मत जंग कार्की, कोषाध्यक्ष गुणराज राजभण्डारी, प्रवक्ता सुजित केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको परिषद् बैठकमा ६५ जिल्लाका १ सय ४५ जना युवाहरुको उपस्थिति रहेको युवा संगठनका प्रवक्ता सुजित केसीले बताए। युवा संगठनको परिषद् बैठक भाद्र २१ गतेसम्म जारी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।