काठमाडौं- भदौ २४ गतेबाट प्रारम्भ हुने नेपाली कांग्रेसको दोश्रो चरणको जागरण अभियानमा नेताहरुलाई गह्रौं माला पहिरिन पार्टीले बन्देज लगाएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अभियानका क्रममा गह्रौं माला लगाउन बन्देज लगाइएको बताए।
बिपी कोइरालाको १०६औं जन्म जयन्तीको अवसर पारेर प्रारम्भ हुने जागरण अभियानमा वक्ता सिमित बनाउन पार्टीले मातहतका कार्यसमितिहरुलाई निर्देशन जारी गरेको छ।
३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित दोश्रो चरणको अभियानमा प्रत्येक क्षेत्रमा केन्द्रीय प्रतिनिधि खट्ने भएका छन्। दोस्रो चरणको अभियान असोज ७ गते सकिनेछ।
अभियानको अन्तिम दिन अर्थात् असोज ७ गते जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। सरकारको विरोधमा हुने विरोधमा महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार/हत्या, संसद्मा प्रस्तुत भएका विधेयकहरुका विरुद्धमा प्रदर्शन गर्ने कांग्रसले जनाएको छ।
अभियानका क्रममा पार्टीका नेता र प्रतिनिधिहरूलाई कम बोल्न निर्देशन दिइएको छ। बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता शर्माले प्रष्टाए। उनले भने, ‘१ मिनेटभित्र आसन ग्रहण सकिनेछ। पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम सुन्ने बढी हुनेछ।’
प्रतिनिधिहरुलाई जनता र कार्यकर्ताका समस्या रुचिपूर्वक सुन्न सुझाइएको छ। जनताका ज्वलन्त प्रश्न, पिडा र अपेक्षालाई ध्यान दिन निर्देशन गरिएको छ। सरकारसँगका अपेक्षा, अनुभूति लगायतका विषयमा संवाद कार्यक्रम गर्न प्रतिनिधिहरुलाई निर्देशन गरिएको छ।
कांग्रेसले १५ दिनको अवधिमा एक लाख युवाहरुसँग प्रत्यक्ष संवाद गरिने जनाइएको छ। महिला हिंसा, उत्पीडन, जातीय छुवाछुत र विभेद, बालश्रम शोषण, घरेलु हिंसा, चेलिबेटी बेचबिखन, छाउपडी लगायतका विसंगतिहरूका विरुद्ध चेतना अभिवृद्धि गरिने प्रवक्ता शर्माले जानकारी गराए।
बिपी कोइरालाको १०६औं जन्म जयन्तीको दिन परेकाले प्रतीकात्मक रुपमा १ सय ६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा रोप्ने पनि कांग्रेसले जनाएको छ। एकैदिन ३४ हजार ९ सय ८० बिरूवा रोपेर अभियान सुरु गर्ने प्रवक्ता शर्माले बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।