काठमाडौं- गत साउन २९ गते संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा कांग्रेस सांसद प्रदीप गिरिले बोलेको एउटा विषय विवादित भयो।
'हिन्दुस्तानले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ। यो तथ्य हो, भइहाल्यो त। सकेको दिन भुटान बनाउँछ। यो तथ्य हो। रेकर्ड भइरहेको छ। अगाडि तपाईं के गर्ने त? सिक्किम बनायो, भुटान बनायो भनेर त हुँदैन त। चीनले तिब्बत बनायो। हिन्दुस्तानले कश्मीर खायो। अनि दैनिक उही कुरा, खायो खायो खायो? तपाईं के गर्ने त?'
यति भन्नुअघि उनले भनेका थिए, 'कूटनीतिको एउटै सूत्र, विपक्षमा रहँदा कहिल्यै पनि त्यस्ता मागहरुलाई उठाउनुहुँदैन, जुन सत्तापक्षमा गएर क्रियान्वयन गर्न नसकियोस्। कूटनीति भनेको चुनाव लड्दा गर्ने भाषण होइन। हाम्रो सबैभन्दा ठूलो विफलता भनेको कूटनीतिक विफलता हो।'
गिरिको यो भनाइको धेरै तर्फबाट आलोचना भयो। त्यसै क्रममा भदौ ९ गते प्रतिनिधिसभामा राप्रपा सांसद राजेन्द्र लिङ्देनले यस विषयमा कुरा उठाए।
'सिक्किम या भुटान बनाउने भन्ने कुराले के अर्थ राख्छ? के भारतले नचाहेर, नसकेर सिक्किम वा भुटान नबनाएको हो? के भारतले पाएको दिन, सकेको दिन नेपाललाई सिक्किम या भुटान बनाउन सक्छ? विद्वान् माननीयबाट आएको यो कुरालाई हल्काफुल्का रुपमा लिनुहुँदैन। यस विषयमा हामी सबैको गम्भीर ध्यान जानुपर्दछ। सरकारको समेत ध्यानाकर्षण गर्न चाहन्छु। यस विषयमा थप स्पष्ट हुनुपर्दछ', लिङ्देनले भनेका थिए।
सोही बैठकमा गिरिले लिङ्देनलाई जवाफ दिने प्रयास गरे।
गिरिले त्यो आफ्नो प्रश्न रहेको बताए। विश्लेषण थिएन भन्ने प्रस्ट्याए। समितिमा राखेको आफ्नो धारणाको पक्षमा मत राख्न १५ मिनेट चाहिने बताए।
उनलाई उपलब्ध ५ मिनेटको समयमा धेरै विषयमा मात्रै बोले।
प्रस्तुत छ, उनको धारणाको सम्पादित अंश
राप्रपाका अत्यन्त तेजस्वी र कर्मठ सदस्य राजेन्द्र लिङ्देनले एउटा विषय उठाउनुभएको छ। उहाँले मैले केही दिनअघि परराष्ट्र समितिको बैठकमा क्रममा मैले बोलेका कुरालाई लिएर गम्भीर प्रश्न उठाउनुभएको छ। मेरो समस्या छ, मैले सिद्ध गर्नुपर्छ सदनमा।
देश बदलिसकेको छ, सरकार बललिसकेको छ। यहाँ दुई तिहाइको सरकार आएको छ। हिन्दुस्तानको झन् कुरै नगर्नुस्। दुई तिहाइले पुग्दैन, धेरै विश्लेषण थप्नुपर्नेछ।
हामीकहाँ दुई वर्षको तोतेबोलीले बल्ल भाषा सिकेजस्तो अवस्था छ। सिक्ने क्रममा उही शब्द बारम्बार दोहोर्याउँछ। 'बाबु के भनेको रे?' भन्दा 'हात्ती हात्ती' भनेजस्तो 'लिपुलेक, सुस्ता, कालापानी र १९५० को सन्धीको पुनरावलोकन'।
पुनरावलोकन गर्न कसले रोकेको छ?
ठिक यस्तै बहसको सिलसिलामा म बाध्य भएर परराष्ट्र समितिको बैठकमा कूटनीतिको सिद्धान्त, त्यो पनि कुनै ज्ञानको आधारमा नभई पाठ्यपुस्तकमा पढेको आधारमा भनेको हुँ। बिए र एमएमा परराष्ट्र नीतिका बारेमा किताब पढ्नुभयो भने हान्स मार्गेन्थुले लेखेको 'पोलिटक्स एमङ्ग नेसन्स' भन्ने पुस्तक पाइन्छ।
परीक्षामा पास गर्ने क्रममा पनि पढ्नुभयो भने ५ वटा कुटनीतिक सिद्धान्त बताउँछ।
पहिलोले भन्छ– कुनै पनि राष्ट्रले आफ्ना कानुनी अधिकारलाई वास्तविक सम्झनु हुँदैन। युएनमा सबैको एक भोट छ तर चीन र भारतका अगाडि 'राजाका आगे बहुको दुहाइ' हुन्छ।
दोस्रो, भाषण गर्दा, बोल्दा र कालापानी दोहोर्याउँदा चुनावमा बडो ठिक हुन्छ। कालापानी लिनुछ भने कूटनीतिक अभ्यास हुनुपर्दछ। १९५० को सन्धि फेर्नुपरेको छ भने बोलेर हुँदैन।
बालककालदेखि नाराहरु सुनिरहेको छु। त्यही नाराका सिलसिलालाई कोट्याउँदै मैले त्यहाँ प्रश्न गरेको थिएँ। कसैको ठूलो इच्छा होला। भारत, चीन र अमेरिकाको पनि होला। आज विश्व एउटा गाउँ भएको छ। कसैले यस्तो इच्छा राख्यो भने के गर्ने?
सभामुखले कृपा गर्नुभयो भने म १५ मिनेट लगाएर आफूले भनेको कुराको समर्थनमा तर्क पेस गर्न सक्छु।
मेरो प्रश्न थियो, विश्लेषण थिएन।
जुन प्रकारले यो सरकार चलाउँदै हुनुहुन्छ, कूटनीतिको जुन गलत समझदारी छ, कूटनीतिलाई यस्तै नबुझीकन राजनीति र प्रचारसँग मिसाउनुभयो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ।
तर युवा पिँढीका यस्ता (राजेन्द्र लिङ्देन) प्रखर सांसद आए आए भोलि नेपालको भाग्यलाई आफ्नो हातमा लेलान्। तर कूटनीतिक युद्ध गर्नुपर्ने हो। बलभद्र र अमरसिंहले बन्दुक बोकेर लडेको समय छैन।
आज कूटनीतिक क्षेत्रमा पनि डिजिटल परिवर्तन आएको छ। अभूतपूर्वक क्रान्ति भएको छ। त्यसको उपयोग हामीले गर्न जानेका छौं?
आजको सबैभन्दा ठूलो माग छ, कनेक्टीभिटी। त्यो हामीले बुझेका छौं? लफ्फाजी गरेर हुन्छ?
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।