रोल्पा- उमेरले ८२ पुगिसके पनि उनको जोस नौजवानको भन्दा कम छैन। छाला चाउरिएर मुजा परेका छन्। कपाल सेताम्य फुलेका छन्। तर उनको राजनीतिक यात्रा मात्र होइन, समाजसेवाको प्रवाह अझै रोकिएको छैन।
पञ्चायतका ३० वर्ष मात्र होइन बहुदलका ८ वर्षसमेत गरी ३८ वर्षसम्म जनप्रतिनिधि भएर नेपालकै सबैभन्दा धेरै अवधि माननीय (सांसद) हुने ती व्यक्ति हुन्, बालाराम घर्तीमगर।
१९९४ साउन १९ गते टीकाकुमारी घर्तीमगर र नरबहादुर घर्तीमगरको जेठो छोराको रुपमा रोल्पाको मिझिङमा जन्मिए उनी। आफूमाथिका दुई दिदीहरुको सानै उमेरमा भएको मृत्युले परिवारमा निकै दुःखको वातावरण थियो। यही परिवेशमा उनको जन्म भएपछि परिवारमा विशेष खुसीयाली छाएको थियो।
नरबहादुरका ४ श्रीमती मध्ये जेठी टीकाकुमारीबाट जन्मिएका हुन्, घर्ती। संयुक्त परिवारमा जन्मिएका उनले आफ्नै बाजे सन्तके घर्तीमगरबाट कखरा सिके। कालोपाटीमा खरी ढुंगाले लेख्ने चलन थियो त्यतिबेला। साँझको समय उनको घरमा पढ्नका लागि गाउँभरका केटाहरु आउँथे।
'कहिलेकाहीँ त घरको पिँढीमा समेत सुत्ने ठाउँ हुँदैनथ्यो,' उनी विगत सम्झन्छन्।
उनको पढ्ने इच्छा मरेको थिएन। उमेर छिप्पँदै थियो। २०१७ सालमा भागेर भारतको लखनउ गए। लखनउमा उनका काकाबाजेले जागिर गर्थे। त्यहाँ पुगेर उनले काकाबाजेसँग पढ्ने इच्छाले आएको कुरा बताए। पढ्ने उमेर गइसकेको हुँदा काकाबाजेले उनलाई प्राइभेट ट्युसन पढ्ने व्यवस्था मिलाइदिए। उनले त्यहाँ रहँदा अंग्रेजी भाषा र अन्य विषयको समेत अध्ययन गर्ने अवसर पाए।
प्रजातन्त्रको स्थापनापछि शिक्षाको लहर फैलँदै थियो। जिल्ला जिल्लामा विद्यालयहरु खुल्दै थिए। उनको गाउँ मिझिङमा पनि विद्यालय खोल्ने चर्चा चलिरहेको थियो। गाउँलेहरुले विद्यालय खोल्नुपर्छ भनिरहेका थिए।
'विद्यालय कहाँ खोल्ने, कसरी सञ्चालन गर्ने भन्ने विषयमा अलमल परिरहेको बेला खडानन्द सुवेदीले विद्यालयको नामाकरण गरिदिनुभयो,' घर्ती त्यो समय सम्झन्छन्।
चन्द्रप्रभा प्राइमरी स्कुल रहने भयो विद्यालयको नाम। सबैले स्विकृति जनाए। २०१६ सालमा सो विद्यालयको सचिवमा उनै बालाराम घर्तीमगरलाई नियुक्ति गरियो।
विद्यालय स्थापना गर्न जति सजिलो थियो त्यसलाई चलाउनु त्योभन्दा कैयौं गुणा गाह्रो। त्यसपूर्व पनि गजुलमा जनज्योति प्राइमरी स्कुल र प्यूठानको पुण्यखोलामा आधार विद्यालय खोलिएको थियो। गजुलमा रहेको विद्यालय निकै सुषुप्त अवस्थामा थियो। पुण्यखोलामा रहेको सो विद्यालय रोल्पाको सीर्पमा स्थानान्तरण गरियो। चन्द्रप्रभा प्राइमरी स्कुल खुल्नुपूर्व यी दुई विद्यालय खुलेका थिए। यसपछि लिवाङमा बागेश्वरी प्राइमरी स्कुल खुल्यो जसले शैक्षिक जागरणमा महत्वपूर्ण भूमिका खेलेको थियो। जिल्लाका अरेश, बुढागाउँ, फगाम, कोछाप लगायतका स्थानमा समेत विद्यालय खुल्दै गए।
सक्रिय राजनीतिको सुरुवात
२०१५ सालको संसदीय निर्वाचनले उनलाई राजनीतिमा आकर्षित गरिरहेको थियो।
नेपाली कांग्रेसको तर्फबाट निर्वाचन क्षेत्र नं ८३ बाट उम्मेदवारी दिएका खडानन्द सुवेदीको प्रचारप्रसार गरे पनि उनको निर्वाचन क्षेत्र भने ८४ मा पर्दथ्यो। जहाँ उम्मेदवार थिए, अनिरुद्र शर्मा। खडानन्द सुवेदीको प्रेरणाका कारण उनले चुनाव प्रचारप्रसारमा समेत सक्रियता देखाए। गुरु खडानन्द र अनिरुद्र दुवैले निर्वाचन जिते। त्यसरी निर्वाचन जितेको भए पनि २०१५ सालमा निर्वाचित जनप्रतिनिधिहरुले लामो समय काम गर्न पाएनन्।
२०१७ पुस १ गते राजा महेन्द्रले पार्टीहरुमाथि प्रतिबन्ध लगाएको घोषणा गर्दै अर्कै मूल्य मान्यता सहितको फरक शासन व्यवस्था सुरु भएको देशवासीका नाममा घोषणा गरे। राजाको घोषणासँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गुरु खडानन्द सुवेदीको सम्पर्कमा पुगे उनी। परिवर्तिन राजनीतिको कसरी मुकाबिला गर्ने भन्ने विषयमा व्यापक छलफल भयो। कसैले भूमिगत हुने कुरा राखे, कसैले राजाको विरोध गर्न नहुने तर्क राखे, कसैले केही समय पर्खेर निर्णय गर्ने कुरा राखे।
'विजय वा पराजय आफ्नो इच्छा वा आकांक्षाले हुने होइन,' उनी भन्छन्, 'जनताले गर्ने फैसला हो। त्यसैले यो चित्त दुखाउने वा अपमानित हुने विषय पनि होइन।'
बैठकको निष्कर्षमा सुवेदीले परिस्थिति जस्तो बनेर आउँछ, त्यही अनुसार अगाडि बढौंला भनेपछि सबैले स्विकृति जनाएर त्यहाँबाट बिदाबारी भए।
२०१८ सालमा गाउँ पञ्चायतको चुनाव हुँदा उनी वडा सदस्य निर्वाचित भए। वडा सदस्यहरुबाटै प्रधानपञ्च र उपप्रधानपञ्च चयन गर्ने चलन अनुसार उनी प्रधानपञ्चमा निर्विरोध निर्वाचित भए। छोटो समय प्रधानपञ्च भए पनि उनले महत्वपूर्ण काम गरे। खासगरी समाजमा रहेका कुप्रथा र शत्रुतालाई हटाउन उनले धेरै मेहनत गरे। मुखियालाई रिझाएर अरुलाई सताउने चलन थियो। यस्तो चलनलाई निरुत्साहित गरे उनले। गाउँमा हुने झगडा पुस्तापुस्तामा हस्तान्तरण हुन्थ्यो। बाबुबजेको पालामा हुने झैझगडा छोरा नातिसम्म सर्ने गर्दथ्यो, जसले गर्दा गाउँमा शान्ति र अमन चयनको वातावरण बन्न सकेको थिएन। उनले यस्ता झैझगडालाई रोक्ने काम गरे।
२०१९ मंसिरमा जिल्लासभाको चुनाव हुने भयो। हरेक गाउँ पञ्चायतबाट एकएक जना जिल्ला सभाषद छानिनुपर्थ्यो। उनी आफ्नो गाउँ पञ्चायतबाट जिल्ला सभाषदमा निर्विरोध छानिए। जिल्ला सभापतिमा उनकै गुरु खडानन्द सुवेदी उठ्ने भए भने उपसभापतिमा उनी। उनको प्यानलको प्रतिस्पर्धी थिए सभापतिमा नारायण चन्द र उपसभापतिमा मस्तवहादुर चन्द। सोही महिनाको माघमा सभापति र उपसभापतिको निर्वाचन भयो। सभापतिमा चन्द र उपसभापतिमा घर्ती निर्वाचित भए।
२०१९ फागुनमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हुने भयो। सदस्यका लागि दाङ, प्युठान, रोल्पा, सल्यान र रुकुम जिल्लालाई एकएक सिट छुट्याइएको थियो। त्यसको साथै अतिरिक्त सिट भनेर केही जिल्लालाई केन्द्रले वितरण गर्ने चलन पनि थियो त्यतिबेला।
मन्त्री नियुक्त हुनेबित्तिकै ठेक्का सम्बन्धी एउटा विवादित फाइल आफूकहाँ आएको र सो फाइल बुद्धिमता तरिकाले सेफल्यान्डिङ गरेको उनी सम्झन्छन्।
रोल्पाले अतिरिक्त सिट प्राप्त गरेपछि अतिरिक्त सिटमै उनी राष्ट्रिय पञ्चायत सदस्यको उम्मेदवार बने। अतिरिक्त सिटमा उनको मात्रै उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित भए। रोल्पाको एक सिटबाट भने नारायण चन्द विजयी भए।
२०१९ साल आफ्ना लागि विशेष वर्ष रहेको सम्झन्छन्, घर्ती। किनकि २०१९ सालमा जिल्लासभाको उपसभापति हुँदै उनले राष्ट्रिय पञ्चायत सदस्य हुने अवसर प्राप्त गरेका थिए।
राष्ट्रिय पञ्चायत सदस्य भइसक्दा सम्म पनि उनी काठमाडौं भने गएका थिएनन्। २०२० बैसाखमा राष्ट्रिय पञ्चायतका सदस्यहरुको बैठक हुने भएपछि काठमाडौं जानुपर्ने भयो। घरबाट कोइलावाससम्म पैदल गएका उनी भारतको जरुवा रेलस्टेसनबाट अमलेखगन्जसम्म रेलमा गए भने सिमरा पुगेपछि जहाजमा पुगे काठमाडौं। त्यसअघि उनी भारत जाँदा रेलयात्रा गरेको भए पनि जहाज यात्रा भने पहिलो थियो।
'पहिलोचोटि काठमाडौं जाँदा निकै सफा सुन्दर थियो। यातायातका साधन पनि खासै थिएनन्। घरहरु पनि सानासाना थिए,' उनले सम्झिए, 'अधिकांश मानिस नेवारी बोल्थे।'
थाहै नपाई मन्त्री
२०३० चैतमा उनी सदरमुकाम लिवाङ आउँदै थिए। प्युठान घर भएका बालकल्याण माविका प्रधानाध्यापक खेमराज पण्डितसँग वामरुकमा भेट भयो।
उनलाई देख्नेबित्तिकै पण्डितले भने, 'बधाई बालाराम जी। तपाईं मन्त्री हुनुभयो।'
आफू मन्त्री भएको उनले त्यसबेला मात्रै थाहा पाए। उनी गृह सहायक मन्त्रीमा नियुक्त भएका रहेछन्। मन्त्री नियुक्त हुनेबित्तिकै ठेक्का सम्बन्धी एउटा विवादित फाइल आफूकहाँ आएको र सो फाइल बुद्धिमता तरिकाले सेफल्यान्डिङ गरेको उनी सम्झन्छन्।
उनी २०३२ सालमा निर्माण तथा यातायात राज्यमन्त्री भए। त्यही समयमा चकचके लिवाङ मोटरबाटोको योजना स्वीकृत भएको हो। २०३९ सालमा रक्षा र उद्योगमन्त्री भए उनी। पञ्चायतकालमा गृह सहायक मन्त्रीबाट मन्त्रीको अनुभव सँगाल्दै आएका घर्तीलाई प्रधानमन्त्री र अर्थमन्त्री बाहेक सबै मन्त्रालय सम्हालेको अनुभव छ। अर्थमन्त्रीहरु विदेश भ्रमण जाँदा पटकपटक सो मन्त्रालय पनि हेरेको अनुभव छ उनीसँग। बहुदलीय व्यवस्था पुर्नस्थापनापश्चात् पनि उनको मन्त्रीयात्रा रोकिएन। २०५१ सालमा आवास तथा भौतिक योजना मन्त्री बने।
२०१९ देखि २०५१ सालसम्म उनी ७ पटक रोल्पा जिल्लाबाट निर्वाचित भए। राष्ट्रियसभामा समेत मध्यपश्चिमाञ्चल विकास क्षेत्रको प्रतिनिधित्व गर्दै विजयी भए।
विद्यालयको सचिवदेखि वडाध्यक्ष हुँदै प्रधानपञ्च, जिल्ला पञ्चायत उपसभापति, राष्ट्रिय पञ्चायत सदस्य तथा बहुदलपश्चात् प्रतिनिधिसभा र राष्ट्रियसभाको सदस्य बने। २०४८ सालमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट, २०५६ मा ललितपुर क्षेत्र नं ३ बाट र २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं १ बाट गरी ३ पटक पराजित भए। २०७४ सालको निर्वाचनमा समेत राप्रपाबाट समानुपातिक उम्मेदवार थिए घर्तीमगर।
पराजयलाई अपमान होइन खुसी र गर्व मान्नुपर्ने उनको तर्क छ। 'विजय वा पराजय आफ्नो इच्छा वा आकांक्षाले हुने होइन,' उनी भन्छन्, 'जनताले गर्ने फैसला हो। त्यसैले यो चित्त दुखाउने वा अपमानित हुने विषय पनि होइन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।