प्रलोभन देखाई युरोप लैजाने भन्दै ठगी गर्ने कन्सल्टेन्सीमा विभागको छापा

नेपाल लाइभ | २०७६ श्रावण २७ सोमबार | Monday, August 12, 2019 १९:४४:०० मा प्रकाशित

काठमाडौं- सामाजिक सञ्जालमार्फत विकसित युरोपेली मुलुकमा आकर्षक रोजगारीको अवसर रहेको झुठो विज्ञापन गरी ठगी गर्ने एलाएन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा वैदेशिक रोजगार विभाग टोलीले छापा मारेको छ। 

विभागबाट आकस्मिक अनुगमनका लागि खटिएको टोलीले आइतबार सिनामंगलस्थित कन्सल्टेन्सीमा छापा मारेको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए। 

युरोपका विभिन्न देशमा विभिन्न पदका लागि विज्ञापन गरी अन्तरवार्ता लिई अवैध वैदेशिक रोजगार सम्बन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा आइतबार विभागबाट खटिइ गएको आकस्मिक टोलीले गौशाला प्रहरीको सहयोगमा उक्त कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीबाट साइप्रस जान आवेदन दिएकाहरुको आवेदन फायल तथा राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिको विवरण समेत अनुगमन टोलीले फेला पारेको विभागले जनाएको छ।

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्बन्धी कागजात र कम्प्युटर जफत गरी ल्याएको छ भने संचालक सुजित कुमार श्रेष्ठलाई आवश्यक बयानका लागि विभागमा उपस्थित हुन पत्र काटेको छ। 

पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन्न व्यक्तिसँग मोटो रकम लिई नियम विपरीत रोजगारीका लागि विदेश पठाउने गरेको उजुरी विभागमा प्राप्त भैरहेको र यस सम्वन्धमा विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तीव्रता दिने नीति लिएको विभागका महानिर्देशक भुसालले जानकारी दिए।