नवलपरासी- भगवान् गौतमबुद्धको अष्ठधातु रहेको नवलपरासीको रामग्राम स्तुपमा प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेका छन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम–७, उजैनी रामग्राम स्तुप क्षेत्रमा गरिएको जियोफिजिक्स (भूभौतिक) सर्वेको क्रममा गौतमबुद्धसँग सम्बन्धित प्राचीन पोखरी र विहारको भग्नावशेष फेला परेको हो।
गौतमबुद्धका ७ वटा अष्ठधातुमध्ये एउटा मात्र सिंगो अष्ठधातु यस रामग्राम स्तुप क्षेत्रमा रहेको बताइन्छ। रामग्राम स्तुपमा १९ वर्षपछि बल्ल जियोफिजिक्स सर्वे गरिएको हो। त्यस क्रममा स्तुपको उत्तरपश्चिम कुनादेखि केही मिटर बाहिर ४० मिटर लम्बाइ र २५ मिटर चौडाइ आकारको प्राचीन पोखरी र करिब ६० मिटर लम्बाइ र ३० मिटर चौडाइको प्राचीन विहारको भग्नावशेष फेला परेको लुम्बिनी विकास कोषका पुरातत्वविद् कृष्ण केसीले जानकारी दिए।
बेलायतको डुरह्याम विश्वविद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्को टोलीले सर्वे गरेको हो। जमिनमुनिको एकदेखि डेढ मिटर सतहमा रहेका वस्तु अवशेष, पुरातात्विक भवन, प्राचीन पोखरी, सडक लगायतको संरचनाको नोक्सान नहुनेगरी पत्ता लगाउन यो सर्वे गरिएको थियो।
यो कार्य बृहत्तर लुम्बिनीको अध्ययन अन्वेषणको क्रममा सन् २०११ देखि लुम्बिनी, कपिलवस्तु लगायतका स्थानमा गरिँदै आएकोमा यस वर्ष रामग्राममा गरिएको हो।
अहिलेको सर्वेबाट फेला परेको यो महत्वपूर्ण उपलब्धि भएको अनुमान गरिएको छ। यसबाट अव आगामी दिनमा रामग्राम स्तुप क्षेत्रमा हुने उत्खनन तथा अन्वेषणमा सहज हुने केसीले जानकारी दिए।
यो सर्वेले स्तुप क्षेत्रमा कहाँ के संरचना छन् भन्ने थाहा हुन्छ। यसअघि सन् १९ वर्षअघि १९९९ मा स्तुपाको पश्चिमतर्फ सोही सर्भे गरी सोही वर्ष पुरातत्व विभागबाट उत्खनन पनि गरिएको थियो।
बेलायतको डुरह्याम विश्वविद्यालयका जियोफिजिक्स सर्वे विज्ञ प्रोफेसर डंकनको नेतृत्वमा रामग्राम स्तुप क्षेत्रमा सर्वे गरिएको हो। यसैगरी, स्तुप वरपरका खेतमा अहिले पनि भगवान् गौतमबुद्धसँग सम्बन्धित पुरातात्विक महत्वका इँटा लगायतका वस्तु भेटिने गरेका छन्।
आगामी वर्ष स्तुप वरपरको क्षेत्रमा बृहत् सर्वे गरेर उत्खननलाई अगाडि बढाउने लुम्बिनी विकास कोषले जनाएको छ, जसबाट अब रामग्राम स्तुपको विकास तीव्रगतिमा हुने आशा पलाएको छ।
रामग्राम स्तुपका ज्ञाता नारद यादवका अनुसार अहिले फेला परेका भनिएका पोखरीबाहेकका अन्य भग्नावशेष विसं २०५९ मा गरिएको पछिल्लो उत्खननमै भेटिएका थिए। त्यसबेलाको उत्खननमा पूर्वी क्यानल निस्केको र त्यसैको नजिकमा इनार पनि देखिएको यादवको भनाइ छ। रामग्राम स्तुपमा विसं २०५४ देखि उत्खनन सुरु गरिएको थियो। तर त्यसपछि लामो समयसम्म उत्खनन नभएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्य (अवशेष तिवारी) ले आफ्नो ५ वर्षे कार्यकालमा लुम्बिनीसहित रामग्राम र तिलौराकोटको विकासमा विशेष ध्यान दिने बताए।
लुम्बिनीमा वार्षिक १५ लाख पर्यटक पुग्दा रामग्राम स्तुपमा कम्तीमा पनि ८ लाख पर्यटकलाई भित्र्याउन सक्नेगरी योजना बनाउन आफू लागिपरेको उपाध्यक्ष भिक्षु मैत्यले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।