



लन्डन– दुवै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र चेल्सीले मंगलबार रातीदेखि सुरु भएको च्याम्पियन्स लिगको यो सिजनको सुरुवात जितबाट गरेका छन्। समूह ‘ए’मा रहेको म्यानचेस्टरले स्विस क्लब बासेललाई ३–० ले पराजित गर्यो। यस्तै, चेल्सीले पहिलो पल्ट च्याम्पियन्स लिग खेलिरहेको अजरबैजानको क्वाराबग क्लबलाई आफ्नो घरेलु मैदानमा ६–० ले हरायो।
म्यानचेस्टर युनाइटेड गत सिजन युरोपा लिगको विजेता बन्दै यो सिजन च्याम्पियन्स लिगमा समावेश भएको हो। क्लबका महंगा खेलाडी पाउल पोग्बा घाइते भएर १९ मिनेटमा बाहिरिएपछि मैदान प्रवेश गरेका बेल्जियमका माराउन फेलिनीले म्यानचेस्टरलाई गोलको अग्रता दिलाएका थिए। उनले अस्ले यङको क्रसमा ३५ मिनेटमा हेडिङ गोल गरे।
दोस्रो गोल ५३ मिनेटमा रोमेलु लुकाकुले गरे। तेस्रो गोल मार्कुस रसफोर्डले ८४ मिनेटमा गरे। रसफोर्ड च्याम्पियन्स लिग, प्रिमियर लिग, युरोपा लिग, एफए कप, लिग कप र इंग्लिस टोलीबाट पहिलो खेलमै गोल गर्ने खेलाडी बन्न पुगेका छन्। उनको यो पहिलो च्याम्पियन्स लिग खेल थियो।
यही समूहको अर्को खेलमा रुसको सिएसका मास्कोले पोर्चुगिज क्लब बेनिफिकालाई २–१ गोलले पराजित गर्यो।
च्याम्पियन्स लिगअन्तर्गत नै समूह ‘सी’ मा रहेको इंग्लिस च्याम्पियन क्लब चेल्सीको जितमा पेड्रो (५), जापाकोस्टा (३०), अज्पिलिक्वेटा (५५), बाकायोको (७१), बात्सुआभी (७६) ले गोल गरेका थिए। अर्को गोल मेडभेडेभले ८२ मिनेटमा आत्मघाती गर्दै उपहार दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।