क्याम्प नेउ– लिओनल मेसीको उत्कृष्ट दुई गोलको सहयोगले बार्सिलोनाले आफ्नो घरेलु मैदानमा गत सिजनको फाइनलिस्ट युभेन्ट्सलाई च्याम्पियन्स लिगको पहिलो खेलमै ३–० ले पराजित गरेको छ।
मेसीले पहिलो हाफको खेलसकिन केही समय बाँकी रहँदा लुइस सुआरेजसँग ‘वान टु’ पास खेल्दै उत्कृष्ट गोल गरे। गत सिजन च्याम्पिन्स लिगको क्वाटरफाइनलमा युभेन्ट्ससँग पराजित भएको बार्सिलोनाले यसपालि दह्रो जवाफ दिएको हो। मेसीले दोस्रो गोल ६९ मिनेटमा गरेका थिए। उनले देब्रे खुट्टाले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गरेका थिए।
मेसीले दोस्रो गोल गर्नुअघि इभान राकिटिकले ५६ मिनेटमा गोल गरेका थिए। मेसीले नै प्रहार गरेको प्रहार राम्रोसँग बचाउ गर्न नसकेको अवस्थाको फाइदा उठाउँदै राकिटिकले गोल गरेका थिए।
युभेन्ट्सले समूह चरणको खेलमा यति लज्जास्पद पराजय भोगेको यो दोस्रो पल्ट हो। यसअघि २००९ मा ऊ आफ्नो घरेलु मैदानमा वायर्न म्युनिखसँग ४–१ ले पराजित भएको थियो।
च्याम्पियन्स लिगको समूह चरणको खेलहरु मंगलबार रातीदेखि सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।