सिलगढी (भारत)- विमल गुटबाट तीन विधायक, विनय गुट, जाप, गोर्खा लिग, गोरामुमोका प्रतिनिधिहरूले पहाडमा चलिरहेको अनिश्चितकालीन बन्द खुलाउन सिलगढीको बैठकमा मुख्यमन्त्री ममता बेनर्जीसँग सहमति जनाएका छन्। उनीहरूलाई मुख्यमन्त्री बेनर्जीले पहाडमा शान्ति बहालीका निम्ति अपिल गरेकी थिइन्, जसमा सबैले सहमति प्रकट गरेका छन्। करिब तीन महिनादेखि चलेको गोर्खाल्यान्डको आन्दोलन यो सहमतिसँगै शिथिल बन्ने देखिएको छ।
मुख्यमन्त्री बेनर्जीले बैठक सकारात्मक र रचनात्मक रहेको बताइन् भने आफूसमक्ष अघि राखिएका मागहरूबारे विचार विमर्श गरिने जनाइन्।
उत्तर कन्यामा मंगलबार दिउँसो ३ बजेदेखि बैठक चलेको थियो। बैठकपछि पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री बेनर्जीले त्रिपक्षीय वार्ता सम्भव नरहेको जनाइन्। त्रिपक्षीय अघि कतिपय कानुनी असुविधाबारे हेरविचार गरिने उनले बताइन्। चिया श्रमिकहरूलाई न्यूनतम तलब आयोग अन्तर्गत ल्याउन साथै चिया समस्या समाधान गर्न पहिले सचिवहरूको अनि त्यसपछि मन्त्रीहरूको बैठक हुने उनले बताइन्।
बन्द अवधिभर पुलिसको गोली लागेर मृत्यु हुने सहिदहरूलाई क्षतिपूर्ति दिनेबारे विचार गर्ने जनाउँदै १५ दिनभित्र कर्मचारी काममा फर्किए १ महिनाअघि तलब दिन सकिने बताएकी छन्।
उनले पहाडको विकास र शान्तिबारे बैठकमा चर्चा रहेको बताइन्। बेनर्जीले १६ अक्टोबरको दिन नवान्नमा फेरि अर्को वार्ता गरिने पनि जनाएकी छन्।
‘मैले सबै दलसित पहाडको जीवन स्वभाविक रूपमा फर्काउन अपिल गरेको छु। बैठकमा सबैले यसबारे सहमति जनाएका छन्,’ उनले भनिन्, ‘आशा छ, सबैले आफ्ना दायित्व पूरा गर्नेछन्।’
पत्रकार सम्मेलनमा गोर्खालिग नेता लक्ष्मण प्रधानले जहिल्यै राज्य सरकारले एउटा मात्र पार्टीसित मिलेर सम्झौता गरेकाले जनताको आकांक्षा पूरा नभएको बताएका थिए।
‘कहिले गोरामुमोसित दागोपाप, कहिले गोजमुमोसित जिटिएको सम्झौता भयो, तर जनाकांक्षा पूरा भएन,’ प्रधानले भने, ‘जनाकांक्षा तब मात्र पूरा हुन्छ, जब बंगालदेखि छुट्टिएर गोर्खाल्यान्ड बनिन्छ। ममता बेनर्जीले यसबारेमा सोच्नु अनिवार्य छ।’
उनले यति भनिनसक्दै मुख्यमन्त्री बेनर्जीले भनिन्, ‘त्यो मात्र कुरा गर्नुहोस्, जुन बैठकमा चर्चा भयो, तपाईँले गर्नु भएको कुराको चर्चा बैठकमा भएको छैन।’
यता विनय तामाङले शीघ्र त्रिपक्षीय वार्ता हुनुपर्ने सम्बन्धमा मुख्यमन्त्रीसित कुरा राखिएको बताए। यद्यपि उनले १७ वटा बुँदागत माग मुख्यमन्त्रीसमक्ष राखिएको जनाएका छन्।
सहिदहरूलाई क्षतिपूर्ति दिइनुपर्ने, पक्राउ परेकालाई मुक्त गर्नुपर्ने, बम विष्फोटबारे उच्चस्तरीय जाँच हुनुपर्ने, कर्मचारीहरूको सर्विस ब्रेक नहुनुपर्ने, उनीहरूलाई तीन महिनाकै तलब दिइनुपर्ने, चियाबारीका श्रमिकहरूलाई पर्चापट्टा दिइनुपर्ने, बन्दको कारण समस्यामा परेका युनिभर्सिटीका विद्यार्थीलाई भर्नाको सुविधा दिइनुपर्ने, ट्याक्समा छुट दिइनुपर्ने, च्यानलहरू पुनर्वहाली गर्नुपर्ने, इन्टनेट बहाली गर्नुपर्नेजस्ता मागहरू राखिएको उनले जनाए।
यता जाप प्रमुख डा हर्कबहादुर छेत्रीले मोर्चाद्वारा राखिएको त्रिपक्षीय वार्ताको मागमा अन्योल रहेको भन्दै त्रिपक्षीय वार्ता केवल छुट्टै राज्य गोर्खाल्यान्डको मुद्दाबारे हुनुपर्ने जनाए।
उनले दागोपाप र जिटिए खारेज गर्नुपर्ने अनि शीघ्र त्रिपक्षीय वार्ताको बाटो खुलाउनुपर्ने बताए। यद्यपि पहाडको जनजीवन सामान्य गर्न सरकारलाई सकरात्मक पहल गरिदिनेबारे अपिल पनि गर्न छुटाएनन्।
विमल गुटबाट गएका विधायक अमर राईले आन्दोलनका कारण दार्जीलिङको अर्थनीति तहसनहस बनेको बताए। उनले पनि पर्यटन, शिक्षा सबै तहसनहस भएकाले पहाडमा शान्ति फर्काउन अनिवार्य रहेको जनाए।
ममता बेनर्जीले के-के भनिन्?
- जिटिएका निर्वाचित प्रतिनिधिहरूले जिटिए विघटन गरेको कारण अहिलेलाई त्रिपक्षीय वार्ता सम्भव छैन। त्रिपक्षीय वार्ता गर्नु अघि न्यायिक प्रावधानहरूबारे जाँचबुझ गर्नेछौं।
- १६ अक्टोबरका निम्ति आजको वार्तामा भएका विमर्श र लिइएका निर्णयहरूको समीक्षा गर्न नवान्नमा फलोअप बैठक गरिनेछ।
- पहाडका चिया श्रमिकहरूलाई न्यूनतम ज्याला ऐन अन्तर्गत ल्याउने कोसिस गरिरहेकै छौँ। चियाबगानका समग्र समस्या बुझ्न, केलाउन र यसका समाधान निकाल्न चिफ सेक्रेटरीहरूले शीघ्र बैठक गर्नेछन्।
- चिया समस्या समाधानका लागि १४ सेप्टेम्बरमा मन्त्रीसभा हुनेछ। यसमा खाद्यमन्त्री अनि पर्यटनमन्त्रीले सहभागिता जनाउनेछन्।
- आन्दोलन गर्नु प्रत्येक जनताको अधिकारको कुरा हो। पहाडमा जे भयो भयो, म त्यो खोतल्न चाहन्न। त्यो उनीहरूको गणतान्त्रिक अधिकारको कुरा हो। अब म पहाडमा शान्ति बहाली भएको देख्न चाहान्छु।
- विनय तामाङले आन्दोलनकालमा मृत्यु भएकाहरूको क्षतिपूर्तीको माग गरेका छन्, त्यसबारे विचार गरिनेछ। यो हाम्रो पोलिसीमा पनि रहेको कुरा हो। तर पहाडका जनता अनि आन्दोलनका सरोकारवालाहरूलाई म बन्द फिर्ता लिन आग्रह गर्छु।
- पहाडमा भएका हिंसात्मक गतिविधिमाथि उच्चस्तरीय न्यायिक जाँच गराइनेछ।
- १५ दिनभित्र राज्यका कर्मचारी काममा फर्किए भने, दशैंको बेला एक महिनाअघि तलब दिइनेछ।
- पहाडका विद्यार्थीका लागि विभिन्न छुटहरू दिइनेछ।
विनय तामाङले के भने?
- १७ बुँदे माग ममता बेनर्जीअघि राखिएको छ। जसमा गोर्खाल्यान्डका लागि त्रिपक्षीय वार्ता हुनुपर्ने माग शीर्षमा छ।
- आन्दोलनकालमा भएको सबै हत्याको उच्चस्तरीय जाँच हुनुपर्छ।
- पुलिस फाइरिङमा मरेका अनि घाइतेका परिवारलाई क्षतिपूर्ति दिइनुपर्छ।
- पक्राउ परेका आन्दोलनकारी, आन्दोलनका शुभचिन्तकहरूलाई निःश रिहाई गरिनुपर्छ।
- भइरहेको बम विष्फोटको घटनाको उच्चस्तरीय जाँच हुनुपर्छ।
- चिया र सिन्कोनाका कर्मचारीलाई बोनस दिइनुपर्छ। चिया श्रमिकहरूलाई न्यूनतम ज्याला ऐन अन्तर्गत ल्याइनुपर्छ।
- चिया श्रमिकहरू राजनीतिको शिकार हुनु हुँदैन।
- नियमित र करारका कर्मचारीहरूको सरुवाबारे पुनर्विचार गरिनुपर्छ।
- शीतकालीन विदामा पनि पाठ्यक्रम पूरा गर्नका लागि स्कुल खुला गरिनुपर्छ। शिक्षकहरूलाई शीतकालीन भत्ता दिइनुपर्छ।
- दशौं र बाह्रौं श्रेणीका विद्यार्थीको पञ्जीकरण म्याद बढाइनुपर्छ।
- सवारी साधनहरूमा लागिरहेको जरिवाना हटाइनुपर्छ।
- एविएन च्यानल लगायत सबै च्यानलहरूमा लागेको प्रतिबन्ध हटाइनुपर्छ।
हर्कबहादुर छेत्रीले के भने?
- त्रिपक्षीय वार्ता लिएर अहिलेसम्म गतिरोध र अन्योल व्याप्त थियो। आजको बैठकले त्यो गतिरोध र अन्योल तोडिएको छ।
- हाम्रा कुरा ध्यानले सुनिदिएकोमा माननीय मुख्यमन्त्रीप्रति कृतज्ञ छौं।
- हामीले पहाडको समस्याको सामाधान प्रक्रिया शुरु गर्न समस्त सरोकारवालालाई सहभागी बन्ने अपिल गरेका छौं। १६ अक्टोबरको बैठकबाट अन्तिम निर्णय सुनाउन सक्छौं होला भन्ने कुरामा विश्वस्त छु।
अमरसिह राईले के भने?
- हामीलाई बैठकमा सहभागी हुन दिएकोमा मुख्यमन्त्रीप्रति आभारी छौं।
- गोर्खाल्यान्डको जरा गहिरो गरी गाडिएको छ, तर आन्दोलनले गर्दा पहाडको अर्थनीति तहसनहस छ। पर्यटन र शिक्षा तहसनहस छ। जनताले अत्याधिक संकट भोगिरहेका छन्। प्रशासनले जनतामा विश्वास जगाउन समूचित पहल गर्न अनिवार्य छ।
जबसम्म त्रिपक्षीय वार्ता हुँदैन म बन्द खोल्ने पक्षमा छैनः विमल
सिलगढीको बैठकपछि विमल गुरूङले विनय तामाङप्रति नरम टिप्पणी गरेका छन्। उनी निक्कै लाचार सुनिन्थे। यता ममता बेनर्जीसित सिलगढीमा वार्ता भयो, उता विमल गुरूङले दार्जीलिङमा एउटा नयाँ कुरा सार्वजनिक गरे।
‘यो बन्द मैले डाकेको होइन, जब पार्टीको कार्यालय पुलिसले घेराउ गऱ्यो, त्यतिबेला विनय तामाङ आफैंले बन्द डाकेका हुन्, म बन्दको पक्षमा थिइनँ,’ विमल गुरूङले सँधैजस्तो अडियो भाषण सार्वजनिक गर्दै भने, ‘बन्द गर्ने विनय नै हुन्, खोल्ने जिम्मावारी पनि उनकै हो। तर जबसम्म त्रिपक्षीय वार्ता हुँदैन तबसम्म म बन्द खुलाउने पक्षमा छैन।’
मंगलबारको बैठकपछि प्रतिक्रिया गर्दै उनले विनय तामाङलाई गलत राजनीति नगरीदिन अपिल पनि गरे। उनले बोनस, चिया श्रमिकहरूको तलब, सहिदका परिवारलाई क्षतिपूर्तिका लागि आन्दोलन नभएको जिकिर गर्दै विनय तामाङहरूले जुन राजनीति गरिरहेको छ, त्यो सरकारसित मिलेर गरिरहेको आरोप लगाए।
‘विनय तामाङ र अनित थापाले यस्तो राजनीति नगरिदिउन्,’ गुरूङले नरम स्वरमा भने, ‘आन्दोलन गोर्खाल्यान्डका लागि भइरहेको छ, शान्ति बहालीका लागि होइन। जातिलाई यसरी धोका दिनु हुँदैन। जनताले सबै थाहा पाइसकेका छन्।’
उनले पहाडमा ममता बेनर्जीले शान्ति चाहेको र विनय तामाङहरूले शान्ति फर्काउन बेनर्जीसित मिलेर जातिलाई धोका दिइरहेको बताए पनि जारी आन्दोलनको निम्ति आगामी रणनीतिबारे भने बोलेनन्।
‘म कसैको पर्वाह गर्दिनँ। मरे मर्छु तर गोर्खाल्यान्ड ल्याएर नै छोड्छु,’ आफ्नो लाचारी प्रकट गर्दै गुरूङले भने, ‘केन्द्रले शीघ्र सामाधानको बाटो खोज्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।