काठमाडौं- 'दि कर्मा' फिल्मको मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको छ। केही दिनअघि फिल्मको थिम पोस्टर सार्वजनिक गरिएको थियो। फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गर्नेछन्।
नेपाली तथा हिन्दी गरी दुई भाषामा निर्माण हुने फिल्ममा भारतीय कलाकारको मूख्य अभिनय रहनेछ। भारतीय कलाकर दीपक आनन्द र करणकुमार वर्मा मुख्य भूमिकामा देखिनेछन्। फिल्मकी नायिका भने नेपालकी हुनेछिन्। नायिको छनौट हुन बाँकी रहेको जानकारी कार्यक्रममा दिइएको थियो।
फिल्ममा दीपक र करणका अलावा क्षितिजा शाक्य, नसीमा आचार्य र अनुप सक्सेनाको अभिनय पनि हेर्न पाइनेछ।
फिल्मबारे बोल्दै निर्देशक श्रेष्ठले आफूले निर्देशन गरेका फिल्महरु भन्दा 'दि कर्मा' फरक हुने बताए। उनले भने, 'नेपाल र भारत सीमा क्षेत्रका नेपालीहरुको सत्य घटनामा फिल्म निर्माण हुन लागेको हो।'
यस्तै, भारतीय कलाकार दीपक आनन्द र करणकुमार वर्माले नेपाली फिल्ममा काम गर्न पाउँदा खुसी र गर्व महसुस गरेको बताए।
बलिउड तथा दक्षिण भारतीय फिल्ममा सक्रिय रहेका दीपकले 'लभ सब प्यार व्यार', 'अञ्जान', 'ह्याङ टिल डेथ' लगायतका टलिउड र मराठी फिल्मका साथै विज्ञापनहरुमा अभिनय गरिसकेका छन्। फिल्ममा दीपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहनेछन्।
फिल्मको निर्माता जयराज राय र नीशा खतिवडा हुन्। एक्सन प्रधान चलचित्र 'दि कर्मा'को छायाँकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा हुनेछ।
मंसिर अन्तिम साताबाट फ्लोरमा जाने फिल्ममा रामेश्वर कार्कीको छायाँकन, जयराज रायको कथा, सुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।