काठमाडौं– युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज रातिबाट यो सिजनको पहिलो खेल सुरु हुँदैछ।
पहिलो दिन समूह ‘डी’ को खेलमा स्पेनिस महारथी बार्सिलोना र इटालीको च्याम्पियन क्लब युभेन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। मध्य राती १२ बजेर ३० मिनेटमा बार्सिलोना आफ्नो घरेलु मैदान क्याम्प नेउमा पुरानो प्रतिद्वन्दीविरुद्ध भिड्ने छ।
दुबै टिमको फरवार्ड लाइनमा अर्र्जेन्टिनी स्ट्राइकर समावेश छन्। त्यसैले रातीको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ। बार्सिलोनाको अग्रपंक्ति अर्र्जेन्टिनी स्टार स्ट्राइकर लिओनल मेसीले सम्हाल्नेछन्। उनलाई यहि सिजन आबद्ध भएका युवा फरवार्ड ओस्मान डेम्बेलेले साथ दिनेछन्।
युभेन्ट्सको अग्रपंक्ति अर्जेन्टिनी फरवार्डद्वय पाब्लो डिबाला र गोञ्जालो हिगुइनको काधमा रहनेछ। बार्सिलोनाविरुद्ध अन्य मुख्य खेलाडी उपलब्ध नहुने भएको हुनाले युभेन्ट्स समस्यामा छ।
चोटका कारण क्लाउडियो मास्चिरानो, जिओर्जिओ चेइलिनी, सामी खेडिरा, मारियो मान्जुकिक, बेनेटिक होवेडेस चोटग्रस्त छन्। यस्तै जुवान काउड्राडो प्रतिबन्धका कारण मैदान उत्रन पाउने छैनन्।
घरेलु लिगमा शतप्रतिशत नतिजा निकालेका दुबै टोलीका लागि च्याम्पियन्स लिगको पहिलो खेल कठिन बन्ने पक्का छ।
अन्य खेलमा इटालियन क्लब एएस रोमा र स्पेनिस क्लब एट्लेटिको म्याड्रिड, चेल्सी र क्वाराबाग एफके, वायर्न म्युनिख र एन्डरलेच तथा म्यानचेस्टर युनाइटेड र बासेलबीच प्रतिस्पर्धा हुँदैछ।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।