काठमाडौं- दुई महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाली युवा टोली ब्याटिङमा जम्न सकेन। खराब ब्याटिङको सिकार बन्दा युवा विश्वकप खेल्ने सपना साकार भएन।
युवा विश्व कपमा छनोट हुन नसकेको नेपालले एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिताको तयारीका क्रममा विशेषगरी ब्याटिङमा ध्यान दियो। ब्याटिङ सुधारकै लागि भारतीय प्रशिक्षक मोन्टी देसाईलाई नेपाल बोलाइएको थियो। प्रतियोगिताका लागि मलेसिया उड्नुअघि नेपाली टोलीका प्रशिक्षक विनोद दासले युवा टोलीको ब्याटिङ परीक्षण हुने बताएका थिए।
परीक्षणका रुपमा रहेको थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ तथा बलिङमा उत्कृष्ट प्रदर्शन गर्यो। नेपालले थाइल्यान्डविरुद्ध २ सय ८१ रनको आकर्षक योगफल तयार गरेको थियो। मध्यक्रमका ब्याट्सम्यान अनिल साहले नेपालका लागि सर्वाधिक ९१ रन प्रहार गरे। सतक बनाउन ९ रनले चुके पनि साहले उत्कृष्ट इनिङ खेलेर युवा टोलीको ब्याटिङमा सुधार आएको संकेत दिएका छन्।
नेपालका प्रशिक्षक दासले साहको प्रसंसा गरे। ‘चिसो पिच भए पनि अनिलले आकर्षक इनिङ खेले,’ दासले मलेसियाबाट भने, ‘दुर्भाग्यवस उनी सतक प्रहार गर्न चुके।’
बारा कलैयाका साह स्कुल जीवनदेखि नै राम्रो ब्याटिङ गर्थे। उनी कलैयाको बाल एकता इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थी हुन्। स्कुल क्रिकेटमै उनले ब्याटिङमा राम्रो प्रतिभा देखाएको बारा जिल्ला क्रिकेट संघका कप्तान सुदीप चौधरी बताउँछन्। ‘स्कुलस्तरीय क्रिकेटदेखि नै अनिलले आफूसँग ब्याटिङ गर्ने राम्रो कला भएको प्रमाणित गरिसकेका थिए,’ चौधरी सम्झन्छन्, ‘उनी आक्रमक ब्याटिङ गर्छन्। विकेटकिपिङ पनि उनको शोख हो।’
तत्कालीन समयमा साहका लागि जिल्लाको टिममा पर्न ठूलो कुरा थियो। किनकि क्रिकेटको उर्वरभूमि बारामा सिनियर खेलाडीको कमी थिएन।

२०६८ सालको जिल्ला स्तरीय प्रतियोगिताका लागि बारा जिल्ला क्रिकेट टिमका ओपनर घाइते भए। पर्साविरुद्ध महत्वपूर्ण खेलमा अन्तिम समय प्रारम्भिक ब्याट्सम्यान टिममा उपलब्ध हुन नसकेपछि कप्तान चौधरीलाई तत्काल खेलाडी खोज्नुपर्ने वाध्यता आइलाग्यो। यतिबेला साहले आफूलाई प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा खेलाउन कप्तान चौधरीसँग अनुरोध गरे। चौधरीले पनि साहको अनुरोध सहर्ष स्वीकार गरे।
‘उनले ओपनिङमा खेल्न इच्छा देखाएपछि मैले आफ्नो नेचुरल खेल देखाउन सुझाव दिएको थिए,’ चौधरीले भने। ओपनिङ गरेको पहिलो खेलमै साहले अर्धशतक प्रहार गरेको चौधरी बताउँछन्।
पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेका साहलाई जिल्लाको टिममा पर्न गाह्रो भएन। जिल्ला र क्षेत्रको यू–१९ टोलीबाट नियमित राम्रो प्रदर्शन गरेपछि साहले गत वर्ष आयोजना भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)मा कान्तिपुर गोर्खाजबाट खेल्ने मौका पाए। इपिएलमा सिनियर टिमका खेलाडीसँग खेलेका साहलाई यू–१९ टिमको बन्द प्रशिक्षणमा बोलाइयो।
गत डिसेम्बरमा श्रीलंकामा भएको यू–१९ एसिया कपबाट साहले युवा टिमको जर्सी लगाउने मौका पाए। तर, उनले भारत र श्रीलंकाविरुद्ध पहिलो रोजाइमा स्थान पाएनन्। मलेसियाविरुद्ध भने साहले खेल्ने मौका पाए। मध्यक्रममा ब्याटिङ गरेका साहले ३२ रन जोडेका थिए। नेपालले एक विकेटको जित निकालेको त्यो खेलमा साहले टोलीका लागि सर्वाधिक रन बनाएका थिए।
साहले गत बैसाखमा सम्पन्न धनगढी प्रिमियर लिग (डिपिएल)मा विराटनगर किंग्सबाट खेले। विराटनगरको विकेटकिपिङ तथा मध्यक्रमको ब्याटिङ सम्हालेका साहले प्रभावशाली प्रदर्शन गर्न सकेनन्।
यसैबीच, साह विभागीय टोली सशस्त्र प्रहरी बलको क्रिकेट टोलीमा आबद्ध भए। डिपिएललगत्तै प्रधानमन्त्री कप एक दिवसीय प्रतियोगितामा उनले मध्यमाञ्चलविरुद्ध सर्वाधिक रन प्रहार गरेका थिए। मध्यमाञ्चलविरुद्ध नटआउट ७८ रन जोडेर साहले राष्ट्रिय क्रिकेटमा पहिलो पटक अर्धशतक बनाए।
पछिल्लो एक वर्षको अवधिमा साहले क्रिकेट करिअरमा थुप्रै फड्को मारे। तर, गत जुलाईमा सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा भने उनको प्रदर्शन खराब रह्योे। छनोटका ६ इनिङ खेलेर साहले ५० रन पनि पूरा गर्न सकेनन्।छनोटमा साह दुई पटक शून्य रन र दुई पटक दोहारो अंक छुन असफल भए। सिंगापुरमा साह मात्र होइन, अन्य ब्याट्सम्यान पनि चल्न सकेनन्।
अहिले मलेसियामा भने नेपाली ब्याट्सम्यानले आफ्नो खेलमा सुधार ल्याएको संंकेत दिएका छन्।
मलेसियामा साहले उत्कृष्ट ब्याटिङ गरेपछि बारामा खुसीको महौल छाएको थियो। सामान्य परिवारका साहका बुबा चन्द्रिकाप्रसाद साहले मिठाइ बाँडेर खुसी व्यक्त गरे। ‘अनिलका बुबा आफ्नो छोराको भविष्यलाई लिएर चिन्तित हुनु हुन्थ्यो,’ बारा क्रिकेटका कप्तान चौधरीले भने,‘तर, थाइल्यान्डविरुद्ध उसले उत्कृष्ट प्रदर्शन गरेपछि उहाँ खुसी हुनु भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।