काठमाडौं– दशैंका लागि मंगलबारदेखि खुलेको यात्रुबसको टिकट बिक्रीमा चरम लापरबाही देखिएको छ। दशैँमा घर जाने अग्रीम टिकटको जोहो गर्न गंगबुस्थित बसपार्क पुगेका थुप्रै सर्वसाधारणले ३ घन्टा लाइन बस्दा पनि टिकट पाउन सकेनन्।
यातायात व्यवस्था विभागसँग छलफल गरी यातायात व्यवसायीहरुले मंगलबारबाट टिकटको अग्रीम बुकिङ खोलेका थिए। काठमाडौंबाहिर घर भएका सर्वसाधारण टिकटको जोहो गर्न बिहान ४ बजेदेखि नै बसपार्क पुगेका थिए।
व्यवसायीहरुले बिहान ८ बजे काउन्टर खोले। तर, केही समयपछि नै खाना खाने बहाना बनाउँदै टिकट काउन्टर बन्द गरिएको थियो। करिब ३ घन्टा लाइनमा बस्दा पनि काउन्टर नखुलेपछि गोरखा घर भएका सीताराम देवकोटाले व्यवसायीको हर्कतप्रति दुःख व्यक्त गरे।
‘किन बन्द गरेको भनेर सोध्दा, खाना खान भने। ३ घन्टा भइसक्यो, खुलेको छैन। अब घर फर्किन्छु,’ उनले नेपाल लाइभसँग खिन्न हुँदै भने।
यस्तै, दुई दिनपछि परीक्षामा समावेश हुनुपर्ने वाध्यताका बीच विहान ४ बजे टिकट काट्न बसपार्क पुगेका एक विद्यार्थीले पनि घन्टौं लाइन लाग्दा टिकट नपाएको भन्दै गुनासो गरे। भने, ‘खाना खान तीन घन्टा लाग्दैन नि हौं। टिकट पाउने आशा छैन। त्यही पनि लाइन बसेको छु।’
विगतमा सरकारी दरभन्दा बढी भाडा असुल्न व्यवसायीहरुले पहिले नै टिकट समाप्त भएको बहाना बनाउँदै आइरहेका थिए। सरकारले यसपालि यात्रुहरुको सुविधाका लागि पहिले नै भाडाको दररेट सार्वजनिक गरिसकेको छ।
चाडबाडको मौका छोपेर बढी भाडा असुल्न व्यवसायीहरुले यस्तो हर्कत गरेको भुक्तभोगीहरु बताउँछन्।
हेर्नोस् गंगबु बसपार्कमा दशैंका लागि घर जाने टिकट काट्नेको सास्तीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।