काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दीर्घकालीन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताएका छन्। सामाजिक सद्भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनका माध्यमबाट यस्तो अभियानका अभियन्तालाई परास्त गरेको ओलीले बताए।
तराईका बाढी प्रभावितलाई सहयोग गर्न एमाले ललितपुर क्षेत्र नम्बर–३ ले संकलन गरेको ३ लाख २५ हजार ७ सय ८० रुपैयाँ राहत रकम बुझ्दै ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को भूगोलले सद्भाव देखाउने नेपालीको परम्परागत संस्कार भएको बताए।
‘नेपालीको यो आत्मीयताको संस्कारलाई बिथोल्न थुप्रै व्यक्ति र संस्था लागि परे,’ ओलीले भने, ‘भुगोल, जाति, धर्म आदिका नाममा नेपालीमा फाटो ल्याउन भएका सबै प्रयासलाई नेपाली जनताले निस्क्रिय पारेका छन्।’
पछिल्ला दुई दशक नेपालमा द्वन्द्व उद्योग गर्नेहरु धेरै फस्टाएको ओलीको भनाइ थियो। नेपालको जातीय विविधिता, भाषिक र सांस्कृतिक विविधतामा द्वन्द्वको बीउ रोपेर यसबाट छाक टार्नेहरुको बिगबिगी रहेको भन्दै कटाक्ष गरे। अध्यक्ष ओलीले भने, ‘नेपाली समाजले द्वन्द्वलाई तिरस्कार गरेपछि त्यसको व्यवस्थापनका नाममा उद्योग गर्नेहरु पनि अहिले फस्टाएका छन्। यस्ता व्यक्ति वा संस्थाबाट सजग हुनुपर्दछ।’
केही तत्वहरु अझै पनि २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रिय रहेको ओलीले आरोप लगाए। ‘यी सबै तत्वलाई जनताले निर्वाचन मार्फत परास्त गरेर सहिष्णु समाज निर्माणको आधार तय गर्नेछन्।’
राहत रकम संकलन समितिका संयोजक रघुनाथ महर्जनका अनुसार उक्त रकम पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र सहयोगीबाट जम्मा गरिएको हो।
राहात रकम नेकपा (एमाले) केन्द्रीय कार्यालयले सञ्चालन गरेको नेकपा एमाले प्राकृतिक विपत्ति कोषको खातामा जम्मा गरेर तराईका बाढी पीडितलाई अविलम्ब पुर्याइने व्यवस्था गरिने ओलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।