विराटनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग संंक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने बताए।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भने,
‘आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ।’
संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररुपमा रहेको बताए।
नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा छानबिन भइरहेको जानकारी दिए।
मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताए।
प्रधानमन्त्री देउवा आजै विराटनगरबाट सप्तरी जिल्ला प्रस्थान गरेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।