काठमाडौं- तेस्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेसले आजबाट तराईका आठ जिल्लामा चुनावी सभा गर्ने भएको छ।
सभामा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ।
पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा मंगलबार निर्वाचन प्रचारमा निस्केर भदौ ३० गतेसम्म व्यस्त रहने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । वरिष्ठ नेता पौडेल भने सोमबार नै लहान पुगिसकेका छन्।
पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले आज दिउँसो १ बजे राजविराजमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सम्बोधन र पार्टी कार्यकर्ता भेटघाटपछि नेताहरुको टोली सिरहा पुग्नेछ । नेताहरुले सिरहाको जिरोमाइलमा आजै हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।
यसपछि प्रधानमन्त्री देउवा सहितका शीर्ष नेताहरु जनकपुर प्रस्थान गर्ने जनाइएको छ । शीर्ष नेताहरुले बुधबार बिहान धनुषा र महोत्तरीका पार्टी नेता-कार्यकर्तासँग भेट्ने र बिहान नौ बजे महोत्तरीको सदरमुकाम जलेश्वरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।