म्याड्रिड– एट्लेटिको म्याड्रिडका डिफेन्डर फिलिप लुइसले रियल म्याड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो फिफा वर्ष खेलाडीको अवार्ड जित्न लायक नभएको प्रतिक्रिया दिएका छन्।
ब्राजिलियन लेफ्ट ब्याक लुइसले पछिल्लो दुई महिनामा रोनाल्डोको उपस्थिति शून्य भएको बताउँदै वर्ष खेलाडीको अवार्डका लागि योग्य नभएको टिप्पणी गरेका हुन्।
‘वर्ष खेलाडीको अवार्ड विषयगत कुरा हो’, लुइसले पेनेन्का म्यागेजिनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘रोनाल्डोको दुई महिनामा उपस्थिति शून्य छ।’
गत वर्षको अवार्ड जितेका रोनाल्डोले गत सिजन रियललाई स्पेनिस ला लिगा र युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका थिए । त्यसैले रोनाल्डोलाई वर्षको खेलाडीको दाबेदारका रुपमा हेरिएको छ । रोनाल्डोको कप्तानीमा उत्रिएको पोर्चुगलले फिफा कन्फेडेरेसेन कपमा भने राम्रो खेल्न सकेन।
रोनाल्डो सिजनकै सुरुमै पाँच खेलेको प्रतिबन्धमा परेका थिए । स्पेनिस सुपर कपअन्तर्गत बार्सिलोना विरुद्धको खेलमा रेफ्रिलाई धेकेलेपछि रोनाल्डोलाई प्रतिबन्ध लगाइएको थियो । ला लिगाका सुरुवाती चार खेल गुमाएका रोनाल्डो २१ सेप्टेम्बरमा रियल बेटिस विरुद्ध मैदान उत्रनेछन् । त्यसअघि रोनल्डोले रियल सोसिडाड विरुद्ध खेल्न पाउने छैनन्।
लिगको सुरुवाती तीन खेलमा रियलले ५ अंक मात्र जोड्न सकेको छ । साविक विजेता रियल सातौं स्थानमा रहँदा शीर्ष स्थानको बार्सिलोनाले शतप्रतिशत नतिजा निकालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।