काठमाडौं- नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले मर्जका लागि पार्टनर खोज्न राष्ट्र बैंकले दिएको समय धेरै छोटो भएको बताएका छन्। नेपाल लाइभको विशेष कार्यक्रम 'सयम संवाद'मा कुरा गर्दै अध्यक्ष ढुंगानाले यस्तो बताएका हुन्। तर उनले बैंकहरु बीचमा समझदारी भएर एमओयु नै हुने अवस्थामा भने अहिले कुनै पनि बैंक नपुगेको बताए।
'मर्जरमा जान बैंकहरुले आआफ्नो रणनीति बनाएर अघि बढिसकेका छन्। तर सम्झौता नै भइहाल्ने अवस्था भने अहिले छैन,' उनले भने, 'राष्ट्र बैंकले दिएको निर्देशनात्मक सुझावलाई सबै बैंकहरुले सकारात्मक रुपमा लिएका छन्।'
फोर्स मर्जमा जानुभन्दा केही सहुलियत तथा प्रोत्साहनसहित बैंकहरु आफैं मर्जमा जाने निष्कर्ष नेपाल बैंकर्स संघको बैठकले लिएको ढुंगाना बताउँछन्। मर्जर जटिल प्रक्रिया भएकोले यसका लागि केही समय लाग्ने ढुंगानाको भनाइ छ।
'फाइदाका पक्षबाट यसलाई हेर्नुपर्छ, यसले बैंकको खर्च घटाउनुको साथै बैंकको पहुँच बढ्ने तथा तरलता अभावजस्ता समस्या समाधान गर्छ भन्ने हाम्रो अपेक्षा हो,' उनले भने।
बिग मर्जर मुलुकको तथा समग्र वित्तीय क्षेत्रको आवश्यकता भएकोले नै राष्ट्र बैंकले यसलाई अघि सारेकोमा ढुंगाना सहमत छन्।
अहिले चालु आर्थिक वर्षको अन्तिम महिना भएकोले क्लोजिङ, आगामी बर्षको बजेट, योजना, ऋण असुलीजस्ता विषयमा बैंकहरुको व्यवस्तता रहेका बेला पार्टनर संस्था खोज्न भने बैंकरहरुलाई चुनौती रहेको ढुंगानाले बताए।
राष्ट्र बैंकले २७ गते मौद्रिक नीति सार्वजनिक गर्दैछ। सो भन्दा अघि नै मर्जर पार्टनर खोज्न राष्ट्रबैंकले भनेको छ।
अन्य बैंकका तुलनामा विदेशी लगानी भएका बैंकलाई भने मर्जमा जान केही समय लाग्ने बताउँदै ढुंगानाको भनाइ छ। 'विदेशी लगानी भएका बैंकका सन्दर्भमा विदेशी साझेदारसँग पनि रणनीति, सल्लाह तथा स्वीकृति बिना एकल निर्णय लिन नसकिने भएकोले यसको प्रक्रिया लम्बिन सक्छ।'
बैंकिंङ क्षेत्रमा देखिएका सबै प्रकारको समस्याको समाधान बिग मर्ज नभए पनि यसले केही हदसम्मको समस्या भने निर्मुल पार्ने तर्क दिँदै ढुंगाना भन्छन्, 'यसले तरलता समस्यामा सुधार आउछ भने अस्वस्थ प्रतिस्पर्धा हराउछ र मुख्यगरि यसले बैंकिंग स्थायित्व कायम गर्छ।'
फरक प्रसङ्गमा, एकल अंकमा कर्जा ब्याजदर कायम हुनु पर्छ भन्ने पक्षमा बैंकहरु समेत रहेको ढुंगानाले बताए। उनी भन्छन् 'कर्जाको ब्याज सस्तो हुनु भनेको अर्थतन्त्रलाई, उत्पादनमुलक क्षेत्रका लागि धेरै राम्रो हो, यसले उत्पादनको लागत कम गराउछ, एकल अंकमा ब्याजदर कायम हुनु पर्छ भन्ने कुराको हामि स्वागत गर्छौ।' तर यसको लागि बजारमा प्रशस्त तरलताको आवश्यकता पर्ने ढुंगानाले उल्लेख गरे।
राष्ट्र बैंकले मर्जरका लागि बैंकहरुलाई पार्टनर संस्था खोज्न दिएको समय र बैंकहरुको वर्तमान अवस्थाका विषयमा नेपाल लाइभका सुमन शर्माले नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानासँग गरेको भिडियो वार्ता:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।