काठमाडौं- चिनियाँ सवारी उत्पादक कम्पनीहरु भारतीय बजारमा आकर्षित हुन थालेका छन्। चिनियाँ कम्पनीहरु ठूलो लगानीसहित भारतमा प्लान्ट स्थापना गर्ने क्रममा रहेको छन्।
केही महिनाअघिमात्र ग्रेट वाल मोटर्सले भारतमा हाभाल र ओआरए ब्रान्डसहित प्रवेश गर्ने घोषणा गरिसकेको छ।
आगामी फेब्रुअरी पहिलो साता भारतमा अटो एक्सपो २०२० हुँदैछ। उक्त एक्सपोमा ग्रेट वाल मोटर्सले दमदार उपस्थिति जनाउने भएको छ। ग्रेट वाल मोटर्सअन्तर्गत एसयुभी ब्रान्ड हावाल र इलेक्ट्रिक ब्रान्ड ओआरए रहेका छन्। ओआरएको आरवान इलेक्ट्रिक कार विश्वकै सस्तो इलेक्ट्रिक कार भएको दाबी गरिएको छ।
कम्पनीले ओआरए आरवानलाई ‘नयाँ जेनेरेसनको इलेक्ट्रिक कार’ का रुपमा प्रस्तुत गरेको छ। यो कार चीन सरकारको इभी-सहुलियत योजनाअन्तर्गत केही समयअघि सार्वजनिक भएको थियो। ओआरए ब्रान्डमा आरवान, आरटू र आइक्यू गरी ३ मोडेल बिक्री भइरहेको छ।
अटो एक्सपो २०२० मा ओआरए आरवान सार्वजनिक हुने जनाइएको छ। आरवान एक पटकको फुल चार्जमा ३ सय ५१ किलोमिटरसम्म रेन्ज दिने कार हो‚ जसमा ३५ केडब्लू मोटर रहेको छ।
हालै भारतमा सार्वजनिक भएको टाटा नेक्सन र नेपालमा आइसकेको र भारतमा सार्वजनिक हुने क्रममा रहेको एमजी इजेडएसले एक पटकको फुल चार्जमा ३ सय किलोमिटर माइलेज दिने दाबी गरिएको छ।
ओआरए आरवानको मूल्य चीनमा ५९ हजार ८ सयदेखि ७७ हजार ८ सय युआनसम्म रहेको छ। यस हिसाबमा सामान्यतया भारतमा यसको मूल्य ६ देखि ९ लाख भारु पर्ने अनुमान गरिएको छ।
यो इलेक्ट्रिक कार सार्वजनिक भएपछि टाटा नेक्सन र एमजी इजेडएस माथि ठूलै दबाब पर्ने भारतीय सञ्चार माध्यमले लेखेका छन्।
ग्रेट वाल मोटर्सले भारतको महाराष्ट्रमा प्लान्ट स्थापना गर्ने योजना बनाएको छ। २०२० को जुलाईसम्ममा ग्रेट वाल मोटर्सले यसबारे निर्णय गरिसक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।