डडेल्धुरा- लाखौं युवा जनशक्ति खाडी मुलुकमा कडा परिश्रम गरिरहेको छ। आफनो स्वास्थ्यको समेत पर्वाह नगरि अधिंकाश नेपाली युवा शक्ति विदेशी भूमिमा पसिना बगाईरहेका छन्।
तर केही युवा भने स्वदेशमै व्यवसाय गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन्। जसको गतिलो उदाहरण बनेका छन् डडेल्धुराको अजयमेरु गाउँपालिका–३ मगराँउ गाउँका ३७ वर्षीय सुरेन्द्रबहादुर चन्द। उनले ६ वर्षदेखि सुरु गरेको बाख्रापालन अहिले व्यावसायिक रुपमा फर्म नै दार्ता गरेर आधुनिक खोरमा व्यवस्थित रुपमा ५२ वटा बाख्रा पालेका छन्।
उनले भने, ‘पहिले हामी भैंसी गोठसँगै थोरैमात्रै बाख्रापालन गथ्र्यौ, जसबाट घरमा चाहिने नुन–तेलमात्रै खर्च आउथ्यो, पछिल्लो ६ वर्षयता मैले आधुनिक खोर बनाएर ५२ वटा बाख्रा पालेको छु।’
उनका उत्पादन अधिकांश पहाडी जिल्लामा पुग्ने गरेको छ। बजारको पनि उनलाई कुनै चिन्ता छैन। घरमै व्यापारीहरु आएर खरिद गरी लैजाने गरेका छन्।
शनिबारबाहेक उनको दैनिकी जंगलमा बाख्रा चराउने, ल्याउने खोरमा राख्ने गरेरै बित्छ। उनको मिलन पोल्ट्री तथा बाख्रापालन फर्म हेर्न आजभोलि छिमेकी जिल्ला बैतडी, बझाङ, दार्चुलालगायत स्थानबाट किसान आउने गरेका छन्। व्यावसायिक बाख्रापालनबाट उनले वार्षिक बैंक ब्याज तथा तीन छोराहरुको पढाइ खर्च र घरखर्च कटाएर दुई लाख आम्दानी गर्ने गरेका छन्।
चन्दले भने, ‘९ लाख बैकबाट कर्जा लिएको छु। ५ लाख गाउँको कर्जा गरी १४ लाख कर्जाको ब्याज, छोराहरुको पढाइ खर्च, घरखर्च सबै कटाएर वार्षिक २ लाख आम्दानी हुन्छ।’
उनको सानो खेत हरियो छ। त्यो हरियाली भर्खर उम्रिदै गरेको नयाँ जातको घाँसको हो। बाख्रापालन गर्न गहुँ तथा मकैखेती हुने २८ रोपनी जमिनमा अहिले विभिन्न जातका घाँस लगाएका छन्। बाख्राहरुलाई चरन क्षेत्र पर्याप्त भए पनि भिटामिन भएको घाँस तथा बधुवा प्रणालीमा बाख्रापालन गर्न घासँखेतीको पनि सुरुवात गरेको उनको भनाइ छ। उनले भने, ‘मैले सुपरनेपियर जातको घाँस लगाएको ६ महिना जति भयो, बाख्रापालनका लागि घाँस खेती पनि आधुनीकरण गरेर, बँधुवा प्रणालीमा बाख्रापालन गर्न घाँसखेती गरेको छु।’
पाँच सदस्य रहेको घरपरिवारले पनि उनको व्यवसायलाई सहयोग गर्दै आएको छ। विशेषगरी श्रीमान–श्रीमती मिलेर बाख्राको गोठलो जाने गरेका छन्। शनिबार भने छोराहरुको पालो आउछ। श्रीमती हेमा चन्दले भनिन्, ‘कहिले म कहिले श्रीमान, बाख्राको गोठालो जाने गरेका छौँ। समस्या त केही छैन। कर्जाले पिरोलेको छ। तर बाख्रा बिक्री हुने बेला पिरलो सकिन्छ।’ उनले यो व्यवसायलाई अझै ठूलो आकार दिन तथा मजबूत बनाउन सरकारी सहयोग आवश्यक रहेको बताइन्।
बाख्रापालनकै लागि घरमा दाना बनाउन मिल, घाँस कटिङ गर्ने मेसिन, माउ बाख्रा, बोका, पाडापाठी छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ।
बाख्रापालनका लागि उपयुक्त हावापानीका साथै चरिचरनका लागि पर्याप्त जंगल क्षेत्र भएकाले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। स्थानीय सरकार अजयमेरु गाउँपालिकाले पनि युवा कृषक चन्दलाई विभिन्न अनुदानका कार्यक्रममा समेटेको जनाएको छ। घाँसखेतीको सिँचाई पोखरीका लागि १ लाख र ५० हजार र बाख्रा धुने पोखरी निमार्णका लागि अनुदान दिएको गाउँपालिका पशु सेवा शाखाले जनाएको छ। तत्कालीन पशुसेवा कार्यालयले पनि उनलाई १ लाख अनुदान सहयोग गरेको भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ कार्यालय डडेल्धुरा, डोटीका प्रमुख खड्क शाहले बताएका छन्।
उनले भने, ‘उनी राम्रो कृषक तथा मिहिनेती भएकाले उनलाई त्यो समयमा हामीले सहयोग गरेका छौं। अब पनि हामी उनलाई आवश्यक सहयोगका लागि तयार छौं।’ २०७० सालबाटै निर्माण गरेको खोर र बाख्राहरुको १० लाख बीमासमेत गरेका छन्। कृषक चन्दले भने, ‘सबैको बिमा छ, सबैको खर्च बाख्रापालनबाट धान्दै छु।’
केही वर्ष पहिले सम्म मासुका लागि खसी बोका आयात हुने डडेल्धुरावाट आजभोलि भने खसी बोका निर्यात हुने गरेको गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञको कार्यालय डडेल्धुरा, डोटीले जनाएको छ। सम्बन्धित निकायले पनि युवा व्यवसायीलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याउन यस क्षेत्रका कृषकहरुको माग छ। अनुदानका कार्यक्रममा कर्मचारीहरुले प्रतिशतका हिसाबले नगद माग गर्ने गरेको कृषकहरुको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।