काठमाडौं- भारतीय अटोमोबाइल क्षेत्र केही सुस्ताएको भए पनि नयाँ नयाँ मोडल सार्वजनिक हुनेक्रम तीव्र रहेको छ। चाडपर्व लक्षित गरेर विभिन्न कम्पनीहरूले नयाँ मोडल सार्वजनिक गरिरहेका छन्।
यस्तैमा रेनो इन्डियाले नयाँ विशेषतासहित क्विड फेसलिफ्ट सार्वजनिक गरेको छ। मारुती सुजुकीले नयाँ मिनी एसयुभी एस-प्रेसो समेत सार्वजनिक गर्दैछ। क्विड फेसलिफ्टको मारुती एस-प्रेसोसँग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
नयाँ क्विडको ५ भेरिएन्ट स्ट्यान्डर्ड, आरएक्सई, आरएक्सएल, आरएक्सटी (ओ) मा उपलब्ध रहेको छ। भारतीय बजारमा सो कारको मूल्य २ लाख ८३ हजारदेखि ४ लाख ३३ हजार भारु रहेको छ।
फेसलिफ्ट क्विडको बुकिङ पनि सुरु भइसकेको छ। कम्पनीले नयाँ फेसलिफ्ट क्विडको इन्जिनमा केही परिवर्तन गरेको छैन। पुरानो मोडल जस्तै यसमा पनि ८ सय सीसी र १ हजार सीसीको पेट्रोल इन्जिन उपलब्ध रहेको छ।
यो कार ५ स्पिड म्यानुअल र ५ स्पिड एएमटी गियरबक्समा उपलब्ध रहेको छ। सो इन्जिन बीएस–४ एमिसन नम्र्स अनुरुप हुनेछ तर चाँडै नै यसलाई बीएस–६ इन्जिनमा अपग्रेड गरिनेछ।
नयाँ फेसलिफ्ट क्विडको डिजाइनमा केही नयाँपन देख्न सकिन्छ। सो कारको बाहिरी डिजाइन बोल्ड देखिन्छ। सो कारमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम रहेको छ। यसमा ट्राइबरमा भएको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर रहेको छ। क्विडको टप मोडलमा एन्ड्रोइड अटो, एप्पल कारप्ले र १४ इन्चको अलोय उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।