पुँजीबजारमा उतारचढाव कायमै, बुधबार ५ अंकले घट्यो नेप्से

नेपाल लाइभ | २०७६ असोज १५ बुधबार | Wednesday, October 02, 2019 १५:४८:०० मा प्रकाशित

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक फेरि ओरालो लागेको छ। यो साता आइतबार ४ दशमलव ६६ अंकले घटेको नेप्से परिसूचक सोमबार र मंगलबार दोहारो अंकले बढेको थियो। बुधबार परिसूचक ४ दशमलव ९८ अंकले ओरालो लागेको छ।

बुधबार नेप्से घटेसँगै परिसूचक १ हजार १ सय ४० दशमलव ७१ अंक कायम भएको छ। बुधबार १ सय ६१ वटा कम्पनीको ७ लाख ८५ हजार ७ सय  ४० कित्ता सेयर २ हजार ८ सय २ पटक खरिद-बिक्री हुँदा २० करोड ३२ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

अन्य समूह र म्युचल फण्ड समूहको उपसूचक क्रमशः ६ दशमलव शून्य ४ र शून्य दशमलव शून्य ५ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै होटल समूहको उपसूचक ४९ दशमलव ८८ अंकले घटेको छ।

सबैभन्दा धेरै कारोबार बैंक अफ काठमाण्डुको प्रमोटर सेयर २ करोड २२ लाख ८४ हजार रुपैयाँ बराबरको किनबेच भएको छ। सबैभन्दा धेरै कमाउनेमा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले प्रतिसेयर ६ दशलमव ३८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले प्रतिसेयर ५ दशमलव ३६ प्रतिशतले गुमाएका छन्।