काठमाडौं– नेकपा एमालेका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशमा आफूहरुले ‘फ्लोर क्रस’ गरेको नभइ पार्टी निर्णयको कार्यान्वयन गरेको स्पष्टीकरण दिएका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएको दुई सातापछि एक अपिल जारी गर्दै नेता ज्वालाले पार्टी केन्द्रको निर्णयअनुसार बनेको सरकारका पक्षमा आफूहरुले मतदान गरेको र यो कुनै फ्लोर क्रस नभएको बताएका हुन्।
‘पार्टी केन्द्रको निर्णय अनुसार बनेको सरकारका पक्षमा हामीले मतदान गरेका हौं। यो कुनै फ्लोर क्रस होइन, पार्टी निर्णयको कार्यान्वयन हो। यो प्राविधिक र व्यक्तिगत विषय पनि होइन, यो राजनीतिक निर्णय हो’ ज्वालाले अपिलमा भनेका छन्।
उनले आफू पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्य भएको स्मरण गराउँदै एकीकरणपछि कर्णाली प्रदेश कमिटीको सह इन्चार्जबाट आफू स्वयंलाई समेत जानकारी नदिई जिम्मेवारी विहीन बनाइएको भन्दै पार्टीभित्र गुटगत अत्याचारले सीमा नाघेको बताएका छन्।
नेता ज्वालाले कर्णाली प्रदेशमा संसदीय दलको नेता २०७५ जेठ अगाडिकै कायम हुने तर पार्टी नेतृत्व फागनु २८ गतेको निर्णय अनुसार हुनुपर्ने दोहोरो मापदण्ड बनाइएको उल्लेख गरेका छन् ।
पार्टी भित्रका समस्या समस्या व्यवस्थापन गरेर पार्टीलाई एकतावद्ध बनाउन मन्त्रीपद समेत त्यागेर खुल्ला छलफलमा आएको भएपनि गुटगत रुपमा पार्टी कव्जा गर्ने रणनीति देखिएपछि त्यसलाई चिर्न खोजिएको उनले जनाएका छन्।
आफूमाथि केही अराजक व्यक्तिहरुबाट आर्थिक प्रलोभनजस्ता भ्रामक आरोप लगाउने काम भएको भन्दै उनले दुःख व्यक्त गरेका छन्।
‘केही अराजक व्यक्तिहरुबाट मलाई आर्थिक प्रलोभनजस्ता भ्रामक आरोप लागउने दुष्प्रयास भएका छन्। तिनीहरुलाई मैले कही कतैबाट आर्थिक लाभ लिएको प्रमाणित गर्न चुनौती दिन्छु’उनले भनेका छन्।
आफूलाई कारबाही गरिएको भन्दै वास्तविकता छानविन नगरी गरिएका एकपक्षीय र पूर्वाग्रही कारबाहीले आफ्नो राजनीतिक यात्रा र सामाजिक अभियानमा कुनै असर नपर्ने ज्वालाले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।