काठमाडाैं- कप्तान बाबर आजमको शतकमा पाकिस्तानले तेस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको छ।
बुधबार भएकाे खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेकाे हाे। योसँगै ४ टि२० आई सिरिजमा पाकिस्तानले २-१ को अग्रता बनाएकाे छ।
जितको लागि २ सय ४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
कप्तान बाबर आजमले ५९ बलमा १५ चौका र ४ छक्कासहित १ सय २२ रनको याेगदान दिए। ओपनर मोहम्मद रिजवान ७३ रनमा अविजित रहे। उनले ४७ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
दक्षिण अफ्रीकाका लिजाड विलियम्सले १ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेकाे दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३ रन बनाएको थियो।
दक्षिण अफ्रिका ओपनर एडेन माक्ररमले सर्वाधिक ६३ रन बनाए। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। ओपनर जानेमान मलानले ४० बलमा ५ चौका र २ छक्का सहित ५५ रनको योगदान दिए।
रास्सी भान डर डुसेन ३४ रनमा अविजित रहे। यता जर्ज लिन्डे २२, हेनरिक क्लासेन १५ र एन्डिले फहलुकवयो ११ रनमा आउट भए।
पाकिस्तानका मोहम्मद नवाजले २ विकेट लिए। पाकिस्तान पहिलो खेलमा ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो। निर्णायक चौथो खेल शुक्रबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।