काठमाडौं– चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम क्रिस्टल प्यालेसविरुद्ध चेल्सीले सहज जित निकालेको हो। चेल्सीका क्रिस्टियन पुलिसिकले दुई गोल गरे। त्यस्तै, काई हाभर्टज र कर्ट जोउमाले समान १–१ गोल गरे। यता, क्रिस्टल प्यालेसका क्रिस्टियन बेनटेकेले एक गोल फर्काए।
पहिलो हाफमा तीन गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुग्यो। खेलको आठौं मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए। खेलको १० औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई २–० गोलको अग्रता दिलाए।
एकपछि अर्को गोल गरेको चेल्सीले खेलको ३० औं मिनेटमा तेस्रो गोल गरेको थियो। कर्ट जोउमाले गोल गर्दै चेल्सीलाई ३–० गोलको अग्रता दिलाए। खेलको ६३ औं मिनेटमा क्रिस्टियन बेनटेकेले गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–१ गोलको स्थितिमा ल्याए। तर ७८ औं मिनेटमा क्रिस्टियन पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–१ गोलको जित दिलाए।
जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ। ३१ खेलबाट चेल्सीको ५४ अंक छ। पराजित क्रिस्टल प्यालेस भने लिगको १३ औं स्थानमा छ। क्रिस्टल प्यालेसको ३१ खेलबाट ३८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।