काठमडौं- सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबारदेखि शुरु भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स एघार टिमलाई पराजित गरेको हो।
त्रिवि क्रिकेट मैदानमा भएका खेलमा ललितपुरविरुद्ध सुदूरपश्चिम प्रदेशले सात विकेटको जित निकालेको हो। १०८ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको सुदूरपश्चिमले १९ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो। सुदूरपश्चिमका लागि मञ्जु बोगटीले ४२ बलमा ६ चौका प्रहार गर्दै सर्वाधिक ४१ रन बनाइन्। त्यस्तै, डोली भट्टले अविजित २२, रेवती धामीले १८ र कविता जोशीले १० रन जोडिन्। बलिङतर्फ सुमन खतिवडा र आरती बिडारीले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर मेयर्स एघारले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०७ रन बनायो। २२ रन हुँदा तीन विकेट गुमाएको ललितपुरका लागि कञ्चन श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्याएकी थिइन्। कञ्चन ६३ रनमा अविजित रहिन्। उनले ५६ बलको सामना गर्दै आठ चौका प्रहार गरेकी थिइन्।
त्यस्तै, सुमन खतिवडाले १६ र अस्मिना कर्माचार्यले १३ रन बनाइन्। बलिङतर्फ सुदूरपश्चिम प्रदेशका कविता कुवँर, रितु कनौंजिया र सम्झना खड्काले समान १-१ विकेट लिए। यसअघि पहिलो खेलमा भने एपिएफ क्लबले प्रदेश १ लाई आठ विकेटले पराजित गरेको थियो।
आज (शनिबार) बाट सुरु भएको प्रतियोगिता २८ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ। पाँच टिम रहेको प्रतियोगितामा ललितपुर मेयर एघारसँगै, सशस्त्र प्रहरी बलको एपिएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन्।
प्रतियोगिताको विजेता टिमले तीन लाख र उपविजेताले एक लाख ५० हजार रूपैयाँ पुरस्कार पाउने छन्। प्लेयर अफ दि सिरिजले २५ हजार, उत्कृष्ट बलरले १५ हजार र उत्कृष्ट ब्याट्सवुमनले १५ हजार रूपैयाँ पुरस्कार पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।