काठमाडौं–कार खरिद गर्नेहरुका लागि पछिल्लो समय सस्तो मूल्यमा प्रविधियुक्त कार उपलब्ध हुन थालेका छन्। विगतमा महँगा कारमा मात्र हुने अटोमेटिक सिस्टम अहिले इन्ट्रिलेवल भन्दा केही महँगा कारमा समेत उपलब्ध हुन थालेका छन्।
अटोमेटिक कारप्रति सहरी क्षेत्रका उपभोक्ता निक्कै आकर्षित हुँदै गएका छन्। यसले सहरी क्षेत्रमा अटोमेटिक कारको बिक्री बढ्दै गएको छ भने सवारी उत्पादकले पनि अटोमेटिक कार आयात बढाइरहेका छन्। चलाउन सहज हुने भएकैले उपत्यकालगायत सहरीमा हुने जाममा सहज यात्रा गर्न धेरैले अटोमेटिक कार खोज्न थालेका छन्।
अटोमेटिक कारमा पछिल्लो प्रविधि प्रयोग भएका हुन्छन्। यीमध्ये अटोमेटेड म्यानुयल ट्रन्समिसन (एएमटी) सबैभन्दा सस्तो प्रविधि हो। यसमा क्लचको प्रयोग हुँदैन भने चालकले गियर परिवर्तन गरिरहनु पर्दैन। यद्यपि, यसमा गियर सिफ्ट भएको चालकले सहजै पत्ता लगाउन सक्ने प्रविधिको प्रयोग गरिएको हुन्छ। एएमटीको बजार विस्तार भएसँगै डाट्सन र टाटाले नयाँ गाडी बजारमा ल्याएका छन्।
डाट्सनको रेडी गो र टाटाको टियागो नेपाली बजारको लागि नयाँ अटोमेटिक गियर बक्सयुक्त कार हुन्। अन्य प्रविधिको तुलानामा केही सस्तो भएकाले नै इन्ट्रिलेवल कारहरुमा यसको प्रयोग हुन थालेको हो। अहिले नेपालमा उपलब्ध मध्ये सबैभन्दा सस्तो मूल्यमा किन्न सकिने अटोमेटिक कार डाट्सन रेडी गो हो। यसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।
त्यस्तै रेनो क्विड, मारुती सुजुकी सेलेरियो एक्स, हुन्डाई सेन्ट्रो म्याग्ना र टाटा टियागो समेत बजारमा उपलब्ध कम मूल्यको अटोमेटिक कार हुन्। हुन्डाईले सेन्ट्रो म्याग्ना अटोमेटिकको मूल्य ३० लाख ५६ हजार रुपैयाँ कायम गरेर विक्री गर्दै आएको छ। टाटाले केही दिन अघिबाट बुकिङ सुरु गरेको टियागो समेत अटोमेटिक गियर बक्समा उपलब्ध हुने कम्पनी जनाएको छ। टाटाले धेरै बिक्री हुने मध्येम रहेको टियागो ह्याचव्याक कारमा अटोमेटिक गियरबक्स उपलब्ध गराउने भएको हो।
१.२ लिटर क्षमताको थ्रि सिलिण्डर युक्त इन्जिन रहेको टियागो अटोमेटिकको मूल्य ३३ लाख २५ हजार रुपैयाँ कायम गरिएको छ। रेनोको क्विड आरएक्सटी अप्सनल अटोमेटिकको मूल्य २६ लाख ४९ हजार रुपैयाँ रहेको छ। मारुती सुजुकीले विक्री गर्ने एसप्रेसो भिएक्सआई प्लस अटोमेटिक गियर बक्समा समेत उपलब्ध छ। एसप्रेसोमा १.० लिटर क्षमताको इन्जिन छ, जसलाई कम्पनीले उपभोक्ताको माग अनुसार मात्र आयात गर्दै आएको छ। कम्पनीले यो कारको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।