(वीरगञ्जका शिवकुमार रुंगटाको प्रारम्भिक स्वास्थ्य रिपोर्टमा देखिएको कोरोना संक्रमण विस्तृत रिपोर्टमा देखिएन। उनका भतिजा, सहायक प्रजिअ र वीरगञ्ज महानगरका मेयरको जानकारीका आधारमा 'रुंगटामा संक्रमण' भनी प्रकाशित समाचारप्रति क्षमाप्रार्थी छौं। -सम्पादक)
काठमाडौं- पर्साको वीरगञ्जका शिवशंकर रूङ्गटालाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले ४ दिन अघि पटना गएका रुंगटालाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी आएको बताए।
नेपाल लाइभसँग कुरा गर्दै उनले यस विषयमा थप अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा एक टोली रुंगटाको घरमा पठाइएको जानकारी दिए।
'वीरगञ्ज आदर्शनगर नजिकै वहाँको घर रहेको भन्ने थाहा पाइयो। तर परिवारले टेलिफोन नउठाएकाले स्थलगत अध्ययनका लागि टोली पठाइएको छ,' उनले भने।
बस्नेतले घटनाको विवरण प्रदेश २ सरकार र संघीय सरकारलाई जानकारी गराइएको पनि बताए। यस विषयमा थप अध्ययन तथा अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
उनको नमूनाको थप परीक्षणका लागि भारतको पुना पठाइएको छ। उनी भारतका विभिन्न सहरमा भएका वैवाहिक कार्यक्रममा सहभागी भएर नेपाल फर्किएका थिए।
वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले उनको अवस्था सुधारोन्मुख भएको जानकारी दिए। 'वहाँलाई संक्रमण पोजेटिभ भएको बारे जानकारी आएको छ। वहाँ जुन अवस्थामा अस्पताल भर्ना हुनु भएको थियो त्यो भन्दा धेरै सुधार भएको जानकारी आएको छ,' महानगर प्रमुख सरावगीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।