काठमाडौं- नेपाल होस्टेल एसोसिएसनले देशभरका सबै होस्टेल बन्द गर्ने निर्णय गरेको छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एसोसिएसनले चैत मसान्तसम्मका लागि होस्टेल बन्द गर्ने निर्णय गरेको हो।
‘हाम्रा सेवाग्राहीहरुको स्वास्थ्यलाई केन्द्रमा राख्ने र सरकारले कोरोनाको संक्रमण रोक्न गरेका प्रयासलाई सहयोग गर्ने महत्वपूर्ण जिम्मेवारीलाई बोध गर्दै चैत्र ९ गतेदेखि सम्पूर्ण होस्टेल कम्तीमा चैत्र मसान्तसम्म बन्द गर्न सबै होस्टल व्यवशायीहरुलाई आग्रह गर्दछौं,’ एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा एक हजारभन्दा बढी संख्यामा होस्टेल संचालनमा रहेका छन्।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले सम्पूर्ण शैक्षिक संस्था लगायतका भिडभाड हुने सार्वजनिक स्थल चैत्र मसान्तसम्म बन्द गर्ने निर्णय गरिसकेको छ।
२५ जनाभन्दा बढी मानिस भेला हुनसमेत बन्देज लगाएको हुँदा होस्टेल बन्द गर्ने निर्णय गरेको एसोसिएसनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।