काठमाडौं- सामाजिक संजालको दुरुपयोग गर्दै अडियो म्यासेजमार्फत् नर्भिक अस्पतालमा ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको र नेपालमा महामारी फैलिइसकेको भन्ने अफवाह फैलाएको अभियोगमा शनिबार दिउँसो एक जना पक्राउ परे। भक्तपुरबाट पक्राउ परेका उनी थिए रामेछाप जिल्ला ठाडादेवी गाउँपालिका घर भई हाल भक्तपुर सिपाडोल बस्दै आएका २० वर्षीय विवेक थापा मगर।
केन्द्रीय साईबर ब्युरोले पक्राउ गरेका उनले प्रहरीसक्षम 'रिच' बढाउनका लागि गलत सन्देश प्रवाह गरेको बयान दिएका छन्। प्रहरीले लिएको प्रारम्भिक सोधपुछमा थापामगरले आफूले संचालन गरेको पेजमा रिच र मानिसहरूको 'इंगेजमेन्ट' बढाउन सो भ्रम र अफवाह फैलाएको स्वीकार गरेका हुन्।
प्रहरीले भने थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
समाजिक सञ्जालका पेजमा रिच र अडियन्स वृद्धि गर्ने नाममा अफवाह फैलाउने र आतंकित पार्ने काम नगर्न प्रहरीले आग्रह गरिसकेको छ। यस्ता काम संलग्न रहेको फेला परेमा प्रचलित ऐन कानुन बमोजिम कडा कारबाही हुने व्यहोरासमेत जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।