देवकोटा : नेपाली साहित्यका मिथक

Nepal Live

—लक्ष्मी जयन्ती विशेष—

आधुनिक नेपाली कवितामा नछुट्ने नाम हो, लक्ष्मीप्रसाद देवकोटा। कविता सिर्जना मात्र होइन, उनको दैनिकी, खानपान, पहिरन लगायत उनको जीवनशैली सार्वजनिक भइसकेका छन्। अब त उनी कसैको जबर्जस्त आदर्शभन्दा पनि नेपाली कवितामा मिथझैं स्थापित भएका छन्। नेपाली साहित्यमा एउटा मिथक हुन्, देवकोटा।

उनलाई राम्रो-नराम्रो, ठूलो-सानो कविभन्दा पनि महाकविकै रुपमा हामीले पढ्दै आएका हौं। त्यही रुपमा बुझ्नुपर्छ।

मैले उनका सबै काव्य त पढेको छैन। मुनामदन खण्डकाव्य सानैमा पढियो। 'पागल', 'यात्री' जस्ता कविताहरु बोध गरेको छु। 'लक्ष्मी निबन्धसंग्रह'का साथै उनका फुटकर निबन्ध पनि अध्ययन गरेको छु।

मुनामदन चाहिँ आम नेपाली समाजको भुइँतह वर्गसम्म पुगेर लेखिएको खण्डकाव्य हो। यसैले पनि मुनामदन उनको जीवनकै सर्वोत्कृष्ट कृति बन्न पुग्यो। लोकलयमा आधारित झ्याउरे छन्द उसै पनि सबैले रुचाउँछन्। मुनामदनमा उनले यही प्रयोग गरे, पछि त सबैको जिब्रोजिब्रोमा झुन्डिने भइहाल्यो। 

कतिपयलाई महाकवि भनेका को हुन् भन्ने थाहा छैन, तर 'मुनामदन' कण्ठ छ। यो त उखानजसरी नै स्थापित भइसक्यो। यी लाइन हेरौं न-

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

'मुनामदन'भित्रको यो दुई लाइनले नै बृहत् आयाम बोकेको छ।

आदर्शभन्दा पर
राणाकालीन समयमा उदाएर र पञ्चायतको सकस भोगेका देवकोटामा समतामूलक समाज निर्माणको चेत थियो। एकतन्त्रीय राणाहरुको कठोर कालमा उनी गरिब, दु:खी र दलितहरुको पक्षमा थिए। त्यो समयमा पनि उनले डरधक मानेनन्। मानवतावादी कवितामा उनको त्यो मर्म बुझ्न सकिन्छ। समाजको जडता विरुद्ध उनी कवितामा क्रान्तिकारी भएरै देखापरे। 

उनको समयमा संख्यात्मकसँगै गुणात्मक साहित्यको माग थियो। उनले त्यो अभाव पूर्ति गर्न पनि सक्दो लेखेकै हुन्। कविताको त्यो कालखण्डमा अभाव हुन दिएनन् पनि। 

उनी जुन ढंगले लेख्थे, एकसरो लेखेपछि फेरि दोहोर्‍याएर साफी नगर्ने गरेको सुन्न र पढ्न पाइन्छ। त्यो उनको आफ्नै शैली होला। किनकि उनी कुनै जड सिद्धान्त वा वैचारिकताको साङ्लोमा बाँधिएका थिएनन्। स्वच्छन्द शैलीमा भावनाको तीव्र वेगले कविता उमार्थे र खोलाको गडगडाहट जसरी लेख्थे। 

एउटै व्यक्तिले त्यो बेलाको समाजलाई तरंगित बनाएको सत्य हो। उनी आदर्शभन्दा परका कवि हुन्। उनको आफ्नै क्षमता, प्रतिभा र व्यक्तित्व थियो। उनी जस्तो हामी बन्न सक्दैनौं। 

देवकोटाका राम्रा पक्ष
उनका धेरै राम्रा पक्ष छन्। समाजमा प्रभाव पार्न उनको त्यो प्रतिभाले भूमिका खेलको छ। उनका सबलतालाई बुँदागत रुपमा यसरी भन्न सकिन्छ- 
१. समाजको अन्धकार र जडता चिरेर प्रगतिशीलता अँगालेका कवि हुन् उनी।
२. जुन बेला जागृतिका साहित्य लेखिनुपर्थ्यो। उनले त्यो आवश्यकतालाई परिपूर्ति गरे।
३. तीव्र लेखनशक्ति भएर पनि उनका धेरै कविता उत्कृष्ट बन्न सफल छन्। उनमा त्यो प्रतिभा थियो।
४. गरिब, दु:खीहरुको पक्षमा सरल सहज भाषामा कविता लेख्ने क्षमताले पनि सामान्य पाठकले उनलाई प्रिय मान्छ।
५. मानवतावाद र प्रगतिशील चेतनालाई उनले एकसाथ अघि बढाए।

ईश्वरीय देवकोटा
उनमा रहेको उच्च ईश्वरीय भक्तिभावको चर्चा पनि भइरहन्छ। ईश्वरको निन्दा गर्नेहरु मानिस पनि छन्। तर, ईश्वर त आद्यविम्ब हो सबैको। खण्डन गरे तापनि सबैको हृदयपत्रको कुनामा कतै न कतै ईश्वरको छाप रहेकै हुन्छ, मधुरो छाया जस्तो। यो आफैंमा रहस्यपूर्ण छ। यसैलाई मान्छेले प्रेम गरेर हिँडेको हुन्छ, त्यो ईश्वरै होओस् वा उसको विश्वास!

देवकोटाको मनमा पनि यस्तै रहस्य थियो भन्न सकिन्छ। उनी ईश्वरभक्त थिए। तर, आस्तिकवादले ग्रस्त थिए भनेर आलोचना गर्नुको तुक छैन। यसो भनूँ, एउटा कवि जो विम्बात्मक हिसाबले ईश्वरलाई प्रेम गर्थे। 

'यात्री' कविमा पनि उनले ईश्वर मन्दिरमा होइन, मान्छेको मनभित्र रहन्छ भनेका छन्। मानवताको सेवामा ईश्वरले बास गर्छ भनेर लेखेका छन्। मृत्युको अन्तिम अवस्थामा पनि उनले 'आखिर श्रीकृष्ण रहेछ एक..' भनेरै लेखेका थिए।

उदारताको पराकाष्ठा
अहिलेको पुस्ताका कविले उनको महाकाव्य पढ्छन् भनेर म विश्वास गर्न सक्दिनँ। पाठ्यक्रममा राखिएकाले धेरै विद्यार्थीले देवकोटाको खण्डकाव्य, महाकाव्य पढेका होलान्। 

उनको शैली, काव्यचेतनालाई हरेकले फरक-फरक ढंगले प्रभाव ग्रहण गरेका छन्। उनको व्यक्तित्वबाट कति सिक्ने भन्ने कुरा अर्को पाटो भयो। गरिबलाई कोटै दिने, जति पैसा छ, दु:खीहरुलाई बाँड्दै हिँड्ने खालको उनको जुन स्वभाव थियो, उदारताको पराकाष्ठा हो त्यो। अहिलेको युगमा त त्यो सम्भव छैन।

एउटा व्यक्तिले आफूलाई जलाएर पनि समाजका लागि दियो झैं बलेर कसरी चेतना छर्न सक्छ भनेर उनीबाट प्रेरणा लिन सकिन्छ। यथार्थमा त उनको अस्तव्यस्त जीवनशैलीबाट सिक्नैपर्ने केही छैन। तर पनि, उनी त्यति उदार र मानवतावादी थिए भने हामीले किन प्रयास नगर्ने भनेर प्रेरणा चाहिँ लिन सक्छौं। कविहरु मात्र होइन, समाजका अरुले पनि उनीबाट प्रभाव ग्रहण गर्नुपर्ने पक्ष धेरै छन्।

(फणीन्द्र संगमले गरेको कुराकानीमा आधारित।)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार