कविता : प्रेम सुखानुभूति मात्र हो

 ईशा शाह

Nepal Live

कहिलेकाँही
तिमीले प्रेम भनेको कुरालाई 
अगाडी उभ्याएर सोध्न मन लाग्छ
साँच्चै! 
प्रेम भनेको तिमी नै हौ त?

म छुट्याऊँ कसरी? 
प्रेम मृगको नाभीमा गाँसिएको कस्तुरी हो कि
या सुगन्धको खोजमा भौंतारिने मृग?

प्रेम फूल हो कि
या बतासले हुँडल्ने यसको सुगन्ध?
परागको हरेक कण प्रेम हो कि
या फूलको पूर्ण अस्तित्व?
पानीका प्रत्येक फोकाहरू प्रेम हुन् कि
या फोकाभित्र कैद भएका प्राण वायु?

म कसरी चिनौं?
प्रेम राधाको विरह गान हो कि?
या मिराले पिएकी विषको प्याला हो?

कि कतै रुक्मिणीको प्राप्ति त होईन प्रेम?
प्रेम साँझ मन्दिरमा बालिएको दियो हो कि
या सलेदोले क्रमशः सल्किएर सक्काउने तेल?

प्रभातका हरेक रश्मीमा तिमीलाई देख्नु
मेरो बहुलठ्ठीपन हो प्रेम?
या वर्षातमा हरेक बुँदले भिज्दा 
तिमीले भिजाएको महसुस गर्ने
मेरो हलोसिनेसन हो प्रेम?

तिम्रो स्पर्शको उन्माद
तिम्रो शरीरको तातो
तिम्रो चुम्बनको मिठास
तिमी हुनुको हर्ष
तिमी नहुनुको पीडा
के हो प्रेम?

अनि के होइन प्रेम? 
म रनभुल्लमा छु
र लाग्दैछ
तिमी हुनुको बोध मात्र
मेरो प्रेमको सार्थकता हो
मेरो प्राणको सबुत हो
मेरो प्रेमको प्रतीक हो

तिमी छौ 
म अनुभूत गर्दैछु
यतै कतै छौ 
मलाई यही पर्याप्त छ
र मलाई थाहा छ
प्रेम सुखानुभुति मात्र हो

००

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार