अनुभूति : छुटेका अनुहार

 कृष्णप्रसाद अर्याल

Nepal Live

'छुटेका अनुहार' जिन्दगीको रङ्गमञ्चमा भव्य उपस्थित हुँदा रहेछन्। त्यस ज्ञानबारे मसँग त्यस्तो विश्वासिलो प्रमाण थिएन। हुन सक्छ मैले खोजिहेरेको रहेनछु क्यारे! अकस्मात् रमेश सायम्- मलाई सायनको अर्थ थाहा छैन,अर्थ खोजीहेर्न पनि उस्तो जाँगर चलेन। म सायनभन्दा सायम् नै भन्न रुचाउँछु।

दाजुको अाउँदै गरेको पुस्तकको नाम देख्छु- छुटेका अनुहार। अनि मलाई पनि मसँगबाट छुटेका अनुहारलाई सम्झनाको मञ्चमा उपस्थित गराएर एउटा भव्य सभा राखूँराखूँ लाग्छ।

मान्छे भन्छन्- मान्छेको सपना कहाँबाट सुरु भएर कहाँ टुङ्गिन्छ भन्ने मान्छेलाई थाहा हुँदैन। मलाई निदाएर देखेको सपनाका अाधारमा चाहिँ मान्छेले भनेको कुरा सत्य हो झैं लाग्छ। कुरा कुराको सिलसिलामा एक मान्छेले भन्नुहुन्छ, 'साथीहरू नाटक खेल्छन्, नाटक हेर्न बोलाउँछन्, अाफ्नो जिन्दगीको नाटक हेरिदिने कोही नभएर रङ्गमञ्चको कुनाकुनामा माकुराले जालो तानिसक्यो।'

म अलिक अव्यवस्थित छु। मैले सुरु गरेको कुराको राम्रो व्यवस्थापन गर्न सकिनँ। कृपया माफ गर्नुहोस्। म अन्तै पुगिसकेछु।

ए, अँ म छुटेका अनुहारको कुरा गरिरहेको थिएँ।

मलाई पनि छुटेका अनुहार हेरुँहेरुँ लाग्यो। मैले लामो समयसम्म हेरेँ पनि! तर त्यहाँ मेरै अनुहार देखियो। मलाई एक मुठ्ठो दिक्क लागेर अायो। कसरी हुन सक्छ मैले हेरिरहेको अनुहार मेरै? मलाई लाग्यो मैले ऐना हेरेको छु, छुटेका अनुहार हैन। मलाई रिस पनि उठेर अायो। मैले ढुङ्गा टिपेर हिर्काएँ त्यो अनुहारमा। त्यसपछि छुटेको अनुहार चलमलाउन थाल्यो तरङ्गित हुँदै।अन्त्यमा छचल्किँदै डिलबाट बाहिरबाहिरसम्म पुग्यो छुटेको अनुहार !

पानीमा रहेछ प्रतिबिम्ब देखिएको त
अावेशमा ढुङ्गा हानियो ऐना भनेर।

मलाई छुटेको कुराको याद १३ वर्षअगाडि पहिलोपटक भएको थियो। त्यसभन्दा अगाडि सायद केही छुटेको थिएन होला मबाट। पहिलो पटक मबाट छुटेको कुनै मान्छे थिएन।

मलाई सम्झना रहेनछ। मबाट मेरो अनुहार धेरै पहिले र त्यसपछि पटकपटक गरेर धेरै पटक छुटिसकेको रहेछ। म धेरै पटक छुटिसकेको छु र अझै पनि धेरै पटक छुट्नेछु। साँच्चिकै मभित्र छुट्ने र मबाट छुट्नेको लामो पंक्ति रहेछ मसँग।म त सधैं भेटिनेहरुको साथमा मात्रै भुल्दो रहेछु।

भुँइको टिप्नमै व्यस्त भएछु सधैंभरि
बिर्सिएछु पोल्टाबाट खसिरहेछन्।

मलाई छुटेको कुराको याद १३ वर्षअगाडि पहिलोपटक भएको थियो। त्यसभन्दा अगाडि सायद केही छुटेको थिएन होला मबाट। पहिलो पटक मबाट छुटेको कुनै मान्छे थिएन। एउटा सिसा थियो, एउटा सिसाको दाग लागेको अनुहार थियो मसँग। त्यो छुटेको थियो। साँझपख स्कुलबाट अाएर झोला तुइनोमा झुन्ड्याएर स्कुलको निलो कमिज पनि नखोलिकन कर्सामा गुच्छा खेल्न गएको थिएँ। क्रमश: म हार्दै गइरहेको थिएँ। मेरो कानमा अामाले बोलाएको अावाज धमिलो गरेर अाइरहेको त थियो तर गुच्छाको अनुहारजस्तो प्रस्ट अाएको थिएन। म हारेर अन्तिममा मेरो 'लक गुच्छा' मात्रै बाँकी थियो मसँग। पुरानो गुच्छा थियो त्यो मेरो। सिसाका ससाना चोक्टा निस्किएका थिए ढुङ्गामा ठोकिएर। अकस्मात् अामाले कुहिनोमा समातेर नेक्र्याउँदै घर लैजानु भो मलाई। र भन्नु भो, 'किन हो र बोलाको नसुन्नि? जान अबेर भैसक्यो र पनि।'

- मावल जाने हो अाज?
- बुटवल जाने हो तँ। पढ्न!
मैले गुच्छा त बिर्सिएछु त्यसबेला!

दिक्क लाग्दो अवस्थामा सम्झनाका बाछिटाले हानेर कमेरो पखालिएको घर! मैले एकपटक कर्सामा पुगेर बोलाएँ पनि घरलाई तर घर बोलेन! एकपटक छुटिसकेपछि कुनै हालतमा पनि पहिलेजस्तो नहुँदो रहेछ। एकपटक छुटेपछि छुट्यो छुट्यो!

भोलिपल्ट साँझ बुटबल पुगेपछि त मलाई झल्झली याद अाउन थाल्यो गुच्छाको। भित्र पानी भएको गुच्छा! कति पटक हार्दा पनि मैले चारचार अोटा गुच्छामा साटेर अाफ्नो बनाएको थिए त्यो गुच्छा! राति अबेरसम्म मच्छेड धपाउँद‌ै सोचिबसेँ- कसको खल्तीमा होला त्यो गुच्छा! कुन केटो जोडले दौडिँदा कसको जाङ्गेको (हाफ पाइन्ट) खल्तीमा अरु गुच्छासँग रगडिएर रिरिङमिरिङ अावाज बोल्दो हो! अबेरसम्म मलाई सम्झना भइरह्यो। भोलिपल्ट गुरुकुल पुगेपछि मलाई कुन्नि कता अल्झ्याएर अामा नि जानुभएछ। त्यसपछि त छुटेका अनुहारको लाम लाग्न थाल्यो मसँग। म यति धेरै रोएँ त्यहाँ रहँदा! साथीहरूले खुब जिस्क्याउथेँ रोएको देखेर! मलाई एकपटक लागेथ्यो- यी अाँखा नि उतै छुटेको भए नि  हुने नि! रुन त पर्थेन। मेरा ताताताता अाँसुका एक पोखरी जति निर्दोष अनुहार नयाँमिल गुरुकुलमा छुटे!

म एक वर्षपछि घर जाँदा मलाई घरले पनि चिनेन! दिक्क लाग्दो अवस्थामा सम्झनाका बाछिटाले हानेर कमेरो पखालिएको घर! मैले एकपटक कर्सामा पुगेर बोलाएँ पनि घरलाई तर घर बोलेन! एकपटक छुटिसकेपछि कुनै हालतमा पनि पहिलेजस्तो नहुँदो रहेछ। एकपटक छुटेपछि छुट्यो छुट्यो!

नयाँमिल पढ्दा शैलेश भट्टराई भन्ने एउटा अद्भुत मान्छे थियो। उत्पट्याङको राजा! उसका छिटाहरू अझै पनि छन् मसँग। अपसोच! ऐले ऊ छैन। समवेदनाको अर्थ थाहा नभएको उमेरमै उसले मलाई रुवाएर गयो। यसरी छुट्यो कि ऊ अब म उसलाई भेट्न दुनियाँ छोड्नुपर्नेछ। कोही मान्छेको देहावसानमा अाजसम्म म एकपटक मात्रै रोएको छु- त्यो अाँसु शैलेशको नाममा मात्रै बगेको छ।

[नाम- शैलेश भट्टराई 
जिस्क्याउने नाम- थारु
उमेर- १२ बर्ष
गर्लफ्रेन्ड- थिइन क्यारे।]

उसको साइकल थियो। म उसको पछाडि बस्थेँ। भन्थ्यो- म तँलाई साइकल चलाउन सिकाउँछु। धेरै समयसम्म त उसले साइकलको चेन फुस्किँदा बनाउन मात्रै लगायो मलाई। तर पछि सिकायो पनि! ड्राइभर हुनुभन्दा अघि उसले एउटा राम्रो खलाँसी बनायो मलाई। सायद पहिलोपटक फ्लिम हेर्न हलमा उसलै लगेको थियो। बुटवल बजारका चप्पाचप्पा याद गरायो।हिलपार्क चढायो,फूलबारी घुमायो, बनबाटिका पुर्‍यायो। उसको एउटा बानी थियो नित्य ब्रस गर्ने! कालो अनुहारमा उसका सेता दाँत यस्तो अद्भुत टल्किन्थे। म उसलाई बेलाबेला जिस्क्याइमाग्थेँ, 'योसँग सेतो भन्ने कुरा दाँत मात्रै छन्।'

चिल्लो कालो थियो ऊ। मभन्दा बाक्लो कालो। कुनै बेला मेरा अगाडि उभिरहेकै अवस्थाको उसलाई भन्थेँ, 'थारु कता गएछ? यहाँ त उसको छाया मात्रै छ त।'

रिसको भाँडो ऊ। मेरो कुरा सुन्नासाथ लामो अायुसम्म ब्रस नगर्नाले अाफ्नो स्वेतरङ गुमाउँदै गएका मेरा स्वर्णिम दाँत भत्काउने उद्देश्यले तीव्र वेगका साथ अाउँथ्यो मेरो दुईतले खाटउपर। म पल्लो खाटमा उछिटिन्थेँ र क्रमशः सबै खाटमाथिबाट भाग्दै ढोकाको मुखबाट फुत्त बाहिर निस्किएर खाली खुट्टा सिँढीबाट तल झरेपछि म माथि फर्केर उसलाई हेर्थें। ऊ रिसले कालो अनुहार बनाएर हेर्थ्यो र फर्किएर कोठामा जान्थ्यो। केही समयपछि म कोठाको ढोकामा पुग्थेँ हेर्थें। 

हामी सातौंदिन साँझ गुरुकुलमा पुग्यौं। गेटबाट भित्र पस्दा यसरी हेरिरहेका थिए सम्पूर्ण विद्यार्थीले बार्दलीबाट कि हामी अर्कै ग्रहबाट अाएका हौं।

ऊ हाँसिरहेको हुन्थ्यो अाफ्नो बाक्साबाट नास्ता झिकेर। म छिट्टो ऊ भएको ठाउँ पुग्थेँ।जिब्रो टोकेर एक मुड्की पिठ्युँमा हान्थ्यो र हाँस्थ्यो ऊ। म उति बेलै उसले  थाहा नपाउने गरेर नास्ताको बट्टा गायब गराइदिन्थेँ।म अाफ्नो खाटमा पुगेपछि फेरि ऊ झम्टिन अाउँथ्यो मलाई नास्ताको बट्टा गायब गराइदिको शंकामा। मैले हैन भनेर ऊसँग जिद्दी गर्थें ऊ मान्दैनथ्यो! र अन्त्यमा म भन्थेँ, 'मलाई नमस्ते गर् अनि दिन्छु।'

ऊ हाँसेर नमस्ते गर्थ्यो।

म फेरि भन्थेँ, 'कान समात् अनि दिन्छु।

ऊ त्यो पनि गर्थ्यो। फेरि भन्थेँ म, 'अब दस पटक उठबस गर् अनि मात्रै दिन्छु।'

ऊ फेरि झम्टिन अाउथ्यो मलाई रिसाएर। म भयमिश्रित अावाजमा अाफ्नो टाउको जोगाउन हात टाउकोमाथि राख्दै भन्थेँ, 'रुक् रुक्, दिन्छु दिन्छु म।'

एकपटक यस्तो पनि भन्यो उसले, 'हिँड् होस्टेल छोडेर भागम्!'

तिलकले मान्यो, मैले पनि हुन्छ भनेँ।सानो टाइट जुत्ता कसेर हामी पछिल्लो गेटबाट भाग्यौं। बुटवल हलमा 'सहिद' भन्ने फ्लिम लागेको रहेछ। हेर्‍यौं ३ बजेपछिको शो। राति अबेर हामी कपिलवस्तु चनौटा पुग्यौं तिलकको घरमा। अर्को दिन चनौटा बजार घुम्यौ, फ्लिम हेर्‍यौं। तीन दिनपछि त्यहाँ थाहा पाए हामी भागेर अाएको भन्ने! हामी त्यहाँबाट पनि भाग्यौं। रुपैयाँ सबै सकिएको थियो। हिँड्दै जङ्गलजङ्गल फेरि रामापुर अायौं। तिलकको दाजु नारायण पंगेनीसँग पैसा मागेर शैलेशको घर गयौं। उसको घर पुग्दा हामी गुरुकुल छोडेको सात दिन भइसकेछ। हामी पुग्दा नपुग्दै दीपक दाइ अाउनु भो खोज्न। गुरुकुलबाट हामीलाई खोज्न पठाएर। हामी सातौंदिन साँझ गुरुकुलमा पुग्यौं। गेटबाट भित्र पस्दा यसरी हेरिरहेका थिए सम्पूर्ण विद्यार्थीले बार्दलीबाट कि हामी अर्कै ग्रहबाट अाएका हौं।

साँझ गुरुजीको भाटेकारबाहीमा पर्‍यौं। भोलि अभिभावक बोलाउने निर्णयका साथ भाटेकारबाही कार्यक्रम भव्यताका साथ सफल भयो। राति अरु साथीहरू भाग्दाका अनेक किस्साहरू सुन्न मेरै खाटमा जम्मा भएका थिए। म गर्वका साथ सुस्तसुस्त सुनाइरहेको थिएँ हाम्रो पुरुषार्थ।

माअोवादीको अामहडतालले भोलिबाटै नेपाल बन्द भयो। अभिभावक अाउने सम्भावना कम भयो। म खुसी भएँ। ६ दिनसम्म साँझको भोजनपछि हाम्रो कारबाही र केरकार चलिरह्यो। सातौं दिन एउटा पत्रमा हस्ताक्षर गरेर सजाय समाप्त भयो। पत्रको भाषा- फेरि यस्तै गरे विद्यालबाट निस्कासन गरिनेछ- वाला थियो। भित्रभित्र हाँसो रोकेर हस्ताक्षर गर्‍यौं। चार दिनपछि बिहान फोहोर जलाउने बेलामा शैलेशले मलाई बोलायो विद्यालय पछाडि। उसको हातमा अस्तिको हस्ताक्षर पत्र थियो र अनुहारमा हाँसो। यताउता हेर्‍यो र हस्ताक्षर पत्र च्यात्यो बीचबाट। अनि अाधा मलाई दिँदै भन्यो- ला जला!

म यत्तिकै अफ्ठ्यारा लाग्दा प्रश्न गरिबसेँ अाफैलाई धेरै बेरसम्म! शैलेशको सम्झनाले हो कि हावाले हो मलाई भित्रैबाट चिसो तुल्याएर ल्यायो! र चिसो भैरह्यो नै!

कतिबेला अफिसबाट त्यो पत्र निकाल्यो उसले थाहा भएन। पछि तिलकलाई भन्यौं त्यो कुरा तर उसले पत्याएन।

वार्षिक परीक्षापछि हामी सबै घर गयौं। घर गएपछि थाहा भयो शैलेश फेल भएछ। गुरुकुलको नियम फेल भएपछि फेरि त्यहाँ पढ्न नपाइने। पहिलोपटकमा ऊ हाम्रो क्लासबाट छुट्यो। शंकरनगर घर भएकाले ऊ कहिलेकाहीँ साँझपख साइकल लिएर अाउथ्यो हामीलाई भेट्न। हामी पनि गुरुको अाँखा छलेर खुसुक्क भेट्थ्यौं।अलिक समयपछि हल्ला अायो- ऊ सिद्धबाबा दोभाननिर ट्रिपर दुर्घटनामा पर्‍यो।केही साथीहरू भन्थे उसको अनुहार ढुङ्गामा टाँसिएको थियो टुक्राटुक्रा परेर। मैले मनमनै भनेँ, 'ढुङ्गामा हैन,यी अाँखामा टाँसिएको छ उसको अनुहार। जुन अनुहार कमजोर अाँसुले कहिल्यै पखाल्न सक्ने छैन,अाँखा पग्लिएर सकिए पनि उसको अनुहार रहनेछ अाँखाको खोपिल्टोमा। हाँसिरहेको उस्तै सेता दाँत देखाएर।

उसले भन्यो, 'हिँड् होस्टेल छोडेर भागम्।'

मैले कति सजिलोसँग मानेक‍ो थिएँ। तर...

मान्छेले दुनियाँ छोडेर जाँदा खै! किन कसैलाई- हिँड् जाम्- भन्दैनन्।

लेख्दालेख्दै एघार बजिसकेछ रातको। म झुप्पा झुप्पा गरेर तारा फलिरहेको अाकाशमुनिको मधुरो छाँयामा बसेर सोचिरहेँ अबेरसम्म- 'छुटेका अनुहारमा' शैलेशको अनुहार होला कि नहोला? के त्यहाँ पनि उस्तै गरेर चम्किरहेका होलान् उसका दाँत? मेरो लकगुच्छाको चोटपटकले युक्त दागे अनुहार अट्यो होला कि नाइँ छुटेका अनुहारमा? कैयौंपटक मबाट छुटेको मेरै अनुहार होला कि नहोला त्यहाँ? म यत्तिकै अफ्ठ्यारा लाग्दा प्रश्न गरिबसेँ अाफैलाई धेरै बेरसम्म! शैलेशको सम्झनाले हो कि हावाले हो मलाई भित्रैबाट चिसो तुल्याएर ल्यायो! र चिसो भैरह्यो नै!

आज 'छुटेका अनुहार' पस्किने दिन! म त कल्पना गरिरहेछु अामाले खीर पस्किन थालेको! स्टिलको थाल अगाडि राखेर मकैका पोस्करले बनाएको सुक्कुलमा पलेटी कसेर बसेको अगेना छेउमा।

दाजु,
हजुर र हजुरको- मलाई हजुरको भन्न मन थिएन, त्यो त हाम्रो हो नि तर भनिसकेँ- 'छुटेको अनुहार'लाई एक हृदय सफलताको स्वादिष्ट शुभकामना।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत