काठमाडौं- वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटेबाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ।
_x000D__x000D_
राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो। बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको सङ्ख्या २ सय ३५ देखिएको बताए।
_x000D__x000D_
सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १ सय ९८ थियो। पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन्।
_x000D__x000D_
विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघगणना गरेको उपमहानिर्देशक भट्टराईले बताए। गणना कार्य पश्चात् क्यामेरा ट्र्याप डाटालाई कम्प्युटर प्रवेश, ग्रीडअनुसार तथ्याङ्क व्यवस्थापन, पुनः नामाकरण, प्रजातिअनुसार तथ्याङ्क उल्लेख, प्रत्येक बाघको फोटो छुट्याउने, क्यामेरा ट्र्याप तथा लाइनट्रान्सेक्ट विवरण, प्रजाति अवलोकन तथ्याङ्क, जिपिएस, दुरी, वियरिङ, बासस्थान उपयोग सर्भेलगायत कार्य गरी बाघको पछिल्लो सङ्ख्या सार्वजनिक गरिएको उनले बताएका छन्।
_x000D__x000D_
चितवन राष्ट्रिय निकुञ्जमा अपेक्षाभन्दा बाघको सङ्ख्या कम देखिएको सम्बन्धमा विभागका महानिर्देशक मनबहादुर खड्काले गत वर्षको बाढीले बाघ बगाएर भारत पुर्याएको, सो क्षेत्रमा प्रकृतिले धान्ने क्षमता सीमित भएको र पर्सा निकुञ्जमा बाघ सरेको हुनसक्ने अनुमान गरिएको बताए।
_x000D__x000D_
सो क्षेत्रमा गत चार वर्षमा प्राकृतिक रुपले, आपसमा लडेर र विभिन्न रोग लागेर १८ बाघ मरेको उहाँले जानकारी गराए। चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १ सय २० देखिएको थियो।
_x000D__x000D_
नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ। नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ रहेको र हाल त्यसको सङ्ख्या वृद्धि भएको विभागले जनाएको छ।
_x000D__x000D_
पाटेबाघ विश्वका १३ देशमा पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो। सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २ सय २६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या छ इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भूटान, भियतनाम, मलेसिया, म्यानमा, रसिया र लाओसमा बाघ पाइन्छ। विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८ सय ९० रहेको छ।
_x000D__x000D_
नेपालको तराई–भूपरिधिक्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमी (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ। बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ। संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्याङ्कमा उल्लेख छ।
_x000D__x000D_
जैविक विविधता संरक्षण अनिवार्यः मन्त्री बस्नेत
_x000D__x000D_
समारोहमा वनमन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधता संरक्षणका कार्यक्रममा जनताको सक्रिय सहभागिता हुनसके मात्र संरक्षणका कार्यक्रम प्रभावकारी र दिगो हुने बताए।
_x000D__x000D_
मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल गरेको उल्लेख गर्दै उहाँले बाघ गणनाको पछिल्लो नतिजाले सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२ सय ५० वयस्क बाघ) पुर्या्उने मुलुकको प्रतिवद्धता पूरा हुने दिशामा नजिक रहेको भन्दै खुशी व्यक्त गरे।
_x000D__x000D_
विसं २०६३ असोज ७ गते वातावरण सम्बन्धी एक कार्यक्रममा गएको तत्कालीन वनमन्त्री गोपाल राईलगायत २४ जना वातावरण संरक्षणकर्मी टोलीका सबै सदस्यको ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको दिनकाे सम्झनामा मन्त्रालयले राष्ट्रिय संरक्षण दिवसका रुपमा मनाउँदै आएको छ।
_x000D__x000D_
समारोहमा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले सरकार र सरोकारवाला निकाय तथा व्यक्तिको प्रयासमा वन क्षेत्र बढेर झण्डै ४५ प्रतिशत पुगेको उल्लेख गर्दै आगामी दिनमा माटो र पानी संरक्षणमा लाग्न सबैलाई आह्वान गरे।
_x000D__x000D_
वन सचिव डा विश्वनाथ ओलीले बाघ गणनाको पछिल्लो नतिजाले सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पुर्याउन नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष गरेको प्रतिबद्धता लक्ष्य नजिक पुगेको बताउँदै आगामी दिनमा पनि सबैको सहयोगको अपेक्षा गरे।
_x000D__x000D_
कार्यक्रममा मन्त्रालयका सहसचिव यज्ञनाथ दाहाल, प्रा डा रामप्रसाद चौधरीलगायतले मुलुकको जैविक विविधताका क्षेत्रमा भएका प्रयास र देखिएका चुनौतीका बारेमा धारणा व्यक्त गरेका थिए।
_x000D__x000D_
कार्यक्रममा यस वर्षको राष्ट्रिय संरक्षण पुरस्कार तनहुका डा कमल गैरेलाई प्रदान गरिएको छ। रु एक लाख ५१ हजार राशिको उक्त पुरस्कार मन्त्री बस्नेतले प्रदान गरे। कार्यक्रममा हाब्रे संरक्षण कार्ययोजना र कञ्चनजङ्घा संरक्षण क्षेत्र र आसपासमा पाइने गुराँससम्बन्धी पुस्तक पनि सार्वजनिक गरिएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।