काठमाडौं– गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले रिक्त ११ डिआइजीमा पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ। ११ डिआइजीका लागि यसपटक २९ एसएसपीबीच प्रतिस्पर्धा हुने भएको छ।
डिआइजी बढुवाका लागि हालका आइजी सर्वेन्द्र खनालका ब्याचका एसएसपीसहित चार ब्याचका एसएसपीबीच प्रतिस्पर्धा हुन लागेको हो। बढुवाका लागि चार ब्याचका प्रहरी अधिकारी एकैपटक प्रतिस्पर्धी भएको यो पहिलो घटना हो। प्रतिस्पर्धीमध्ये ७ जना एसएसपी २०४६ सालका प्रहरी निरीक्षक ब्याचका हुन्।
असोज २२ गतेसम्म गत आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन कायम रहने भएकाले यस मितिभित्र सकिनेगरी डिआइजी बढुवाको तयारी सुरु गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।
एसएसपीहरु पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, विनोद शर्मा घिमिरे, ठाकुरप्रसाद ज्ञवाली, तारिणीप्रसाद लम्साल, हरिभक्त प्रजापति, सूर्यप्रसाद उपाध्याय डीआइजी बढुवाको अग्रपंक्तिमा देखिन्छन्। जोशी, श्रेष्ठ, घिमिरे र प्रजापति आइजीपी खनाल ब्याचका हुन्। उनीहरुले खनालसँगै २०४६ माघ २९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए। त्यस्तै, ज्ञवाली, लम्साल र उपाध्याय सोही ब्याचका वैकल्पिक समूहका अधिकृत हुन्।
शैलेश थापा क्षत्री, निरजबहादुर शाही, हरिबहादुर पाल, गणेशबहादुर ऐर, बसन्तकुमार पन्त, प्रकाशजंग कार्की, घनश्याम अर्याल, प्रद्युम्नकुमार कार्की, ईश्वरबाबु कार्की, वीरेन्द्र श्रेष्ठ, पुरुषोत्तम कँडेल, डा देवबहादुर बोहरा, दिलीपकुमार चौधरी र राजेशकुमार लाल कर्ण, विश्वराज पोखरेल, धीरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, सौरभ राणा, रामकृपाल साह र उमेश रञ्जितकार पनि प्रतिस्पर्धामा छन्।
२९ जना एसएसपी मध्येबाट ११ जना डिआइजीमा बढुवा भएपछि १५ जना एसएसपीको पद रिक्त हुनेछ। हाल एसएसपीका ४ पद रिक्त छन्। डिआइजी बढुवासँगै बढुवा समितिले एसएसपी बढुवाका लागि पनि तयारी गरेको छ।
तर एसएसपी बढुवामा कानूनी अप्ठ्यारो पर्ने देखिएको छ। एसएसपी बढुवाका लागि ३२ एसपी प्रतिस्पर्धी छन्। उनीहरु सबै २०७१ फागुन १० गते एसपीमा बढुवा भएका हुन्।
बढुवाका लागि यस्तो छ कानुनी व्यवस्था
प्रहरी नियमावली २०७१ अनुसार एसएसपीमा बढुवा हुन एसपी पदमा रही कम्तिमा ४ वर्ष सेवा गरेको हुनुपर्ने प्रावधान रहेकोले समस्या देखिएको बढुवा समितिका एक सदस्यले जानकारी दिए।
प्रहरी नियमवालीको नियम ४ मा प्रहरीको श्रेणी र पद छुट्याइएको छ। जसमा राजपत्राङ्कित र राजपत्र अनङ्कित श्रेणी छन्। राजपत्राङ्कित भित्र विशिष्ट श्रेणीमा प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रथम श्रेणीमा प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक, द्वितीय श्रेणीमा प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक र तृतीय श्रेणीमा प्रहरी निरीक्षक पद पर्दछन्।
प्रहरी नियमवालीको नियम २८ अनुसार बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधिका बारेमा उल्लेख गरिएको छ। नियम २८ (१) का अनुसार प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तहभन्दा एक श्रेणी वा तह मुनिको पदमा तल उल्लेखित सेवा अवधि पूरा गरेको हुनुपर्ने उल्लेख छ।
(क) प्रहरी सेवाको राजपत्राङ्कित अधिकृत पदका लागि ४ वर्ष।
(ख) प्रहरी सेवाको राजपत्र अनंङ्कित पदबाट राजपत्राङ्कित अधिकृत पदमा बढुवा हुनका लागि ८ वर्ष।
(ग) राजपत्रअनंङ्कित पदका लागि ४ वर्ष।
एसपी पद राजपत्राङ्कित पद भएकाले एसएसपीमा बढुवा हुन ४ वर्ष पूरा भएको हुनुपर्ने उल्लेख गरिएको छ। नियमावलीको नियम ४ मा एसएपी र डिएसपी एउटै श्रेणीमा परेकाले दुबै पदको सेवा अवधि जोड्न सकिने बाटो पनि खुल्ला रहेको समितिका एक सदस्यले बताए।
नियमावलीमै प्रष्ट कुरा उल्लेख नगरिएकोले एसएसपी बढुवा भने अन्योलमा परेको छ। यदि, एसपीमा ४ वर्ष नपुगी बढु्वा गर्न नमिल्ने हो भने आगामी फागुन १० गतेसम्म नेपाल प्रहरीको १५ एसएसपी पद खाली हुने देखिन्छ। यसबारेमा कसरी अगाडि बढ्ने भन्नेबारे बढुवा समितिले गृहकार्य सुरु गरेको प्रहरी स्रोतले जानकारी दियो।
बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य र प्रहरी महानिरीक्षकले तोकेका अतिरिक्त प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।
एक सदस्यले भने, ‘नियमावलीमा श्रेणी, तह र पद भनेर अस्पष्ट कुरा उल्लेख गरिएकाले समस्या देखिएको छ। सम्भवत छलफलबाट टुंग्याएर बढुवा गर्छाैं।’ एसएसपीमा बढुवा गर्दा तालिमवापत पाउने अंंक डिएसपीको समेत जोडिने व्यवस्था छ। जसका कारण डिएसपी र एसपीको सेवा अवधि जोडेर ४ वर्ष पुर्याएर बढुवा गर्न सकिनेबारे पनि छलफल भएको बताइएको छ।
यसभन्दा अघि एसपीबाट एसएसपीमा बढुवा गर्दा सबैजनाको ४ वर्ष पूरा भइसकेकाले समस्या आएको थिएन। तर, यसपटक भने एसपीमा बढुवा भएको ४ वर्ष नपुग्दै एसएसपीमा बढुवा गर्नुपर्ने भएकाले समस्या आएको हो। अहिले एसएसपीमा बढुवाका प्रतिस्पर्धीहरु २०५१/०५२ सालमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका हुन्। उनीहरु २०७१ फागनु १० गते एसपीमा बढुवा भएका थिए।
को–को छन् एसएसपी बढुवाको दौडमा?
यसपटक ३५ एसपीहरु एसएसपी बढुवाकाे दाैडमा छन्। एसपीहरु नरेन्द्रप्रसाद उप्रेती, सन्दीप भण्डारी, मीरा चौधरी थारू, दुर्गा सिंह, भरतबहादुर बोहरा, टेकप्रसाद राई, वसन्तबहादुर कुँवर, विष्णुकुमार केसी, रामदत्त जोशी, श्यामलाल ज्ञवाली, गणेश रेग्मी, किरण बज्राचार्य, बुद्धिराज गुरुङ, राजेशनाथ बास्तोला एसएसपी बढुवाको दौडमा रहेका छन्।
त्यस्तै, जनकराज पाण्डे, मुकेशकुमार सिंह, सुरेन्द्र मैनाली, दीपक थापा, पोषराज पोखरेल, रवीन्द्र केसी, नवराज भट्ट, उमेशराज जोशी, भीमप्रसाद ढकाल, अशोक सिंह, हृदय थापा, कुबेर कडायत, केदार ढकाल, राजेन्द्र लालमणि आचार्य, गोविन्दकुमार शाह, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, कृष्णकुमार महत, किरण राणा, अर्जुनचन्द ठकुरीलगायतबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।