काठमाडौं– सवारी साधनहरुको कुम्भ मेला ‘नाडा अटो शो’ मा विभिन्न ब्रान्डका बाइकहरुले अफर नै अफर ल्याएका छन्।
ठूला चाडपर्वको पूर्वसन्ध्यामा भएको अटो शोमा सवारी कम्पनीहरुले पूर्वलक्षित अफर तथा स्किमसमेत सार्वजनिक गरेको बताएका छन्। शोमा सबैभन्दा महङ्गो ४५ लाख ८५ हजार मूल्यसम्मका बाइकहरु बुकिङको लागि राखिएको छ भने कम्पनीहरुले सस्ता बाइकहरुमा पनि विभिन्न खालका छुटका योजनाहरु अगाडि सारेका छन्।
कुन ब्रान्डको बाइक खरिदमा कति छुट?
एफटेक मोटर्सको १ लाख ६९ हजारदेखि ६ लाखसम्मका बाइक
नाडा अटो शोमा एफटेक मोटर्सले ९ वटा मोडलका दुई पांग्रे सवारीसाधन राखेको छ। जसमध्ये ८ मोडलका मोटरबाइक र एउटा स्कुटर रहेको छ। यद्यपि ८ मोडलका बाइकमध्ये २ वटाको मात्रै बुकिङ लिइएको छ। बाँकी दुई मोडलको बिक्रीका लागि नेपाल आउन बाँकी नै रहेको कम्पनीले जनाएको छ। इटालियन कम्पनीसँगको सहकार्यमा भारतमा उत्पादन गरिएका यी बाइक १ सय १० देखि ३ सय १० सीसीसम्ममा उपलब्ध छन्।
कम्पनीको बिक्रीमा रहेका बाइकमध्ये सबैभन्दा सस्तो रोयल प्लस (११० सिसी)को मूल्य सबैभन्दा कम १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ भने सबैभन्दा महँगो जोनटेसको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ। नाडा अटो शोलाई लक्षित गरेर कम्पनीले ५ हजार देखि १० हजार रुपैयाँसम्म स्क्रयाच कुपन राखेको जनाएको छ। कम्पनीले शोमा राखेको एक मात्र मोडलको स्कुटरको मूल्य भने १ लाख २० हजार रुपैयाँ तोकेको छ।
केटिएम बाइकका ५ मोडल उपलब्ध
केटिएम ब्रान्डले नाडा अटो शोमा ५ मोडल राखेको छ। जसमा सबैभन्दा सस्तो २ सय सिसीको ड्युक बाइक रहेको छ। जसको सबैभन्दा सस्तो मूल्य ४ लाख ९९ हजार ९ सय रुपैयाँ छ। कम्पनीले आरसी ३ सय ९० सिसी बाइको मूल्य ८ लाख १९ हजार ९ रुपैयाँ तोकेको छ। केटिएम ड्युक बाइकको माइलेन्ज न्युनतम २५ देखि अधिकतम ३५ किलोमिटर रहेको कम्पनीले जनाएको छ।
हार्ली डेभिल्सन बाइकको मूल्य ४५ लाख ८५ हजार
हार्ली डेभिल्सन बाइकको आइरन ८८३ मोडल मेलाभरिकै सबैभन्दा महँगो बाइक हो। जसको मूल्य ४५ लाख ८५ हजार रुपैयाँ रहेको छ। शोमा यसको बुकिङ मात्र खुलाइएको कम्पनीले जनाएको छ। हालसम्म ७ जनाले उक्त बाइक बुकिङ गरेका छन्। सो ब्रान्डको बाइक आइएमई अटो मोट्रिस्ले अक्टोबर फस्टदेखि बिक्री गर्ने जनाइएको छ। शोमा उक्त बाइक बुकिङ गर्नेलाई ८५ हजार रुपैयाँ छुट दिने जनाइएको छ।
टिभिएसको नयाँ मोडलको बाइक र स्कुटर सार्वजनिक
नाडा अटो शोमा जगदम्बा अटो ग्रुपले टिभिएसको नयाँ मोडलको बाइक र स्कुटर सर्वजनिक गरेको छ। कम्पनीले सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर–३१० र स्मार्ट कनेक्टेड स्कुटर एनटर्क–१२५ नेपाली बजारमा सार्वजनिक गरेको हो।
अपाचे आरआर–३१० को मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको छ। त्यस्तै स्कुटर एनटर्क–१२५ को मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ तोकिएको छ। शोमा टिभिएसको सबैभन्दा सस्तो मोडल स्टार स्पोर्ट ११० सिसीको मूल्य १ लाख ५६ हजार ९ सय रुपैयाँ अंकित गरिएको छ।
टेक्केन बाइक खरिदमा ४५ हजार रुपैयाँसम्म छुट
टेक्केनले ३ मोडलका बाइकहरु अटो शोमा राखेको छ। जसमा २ लाख ४० हजारदेखि ३ लाख ८५ हजार रुपैयाँसम्मका बाइक रहेका छन्। नाडा अटो शोमा बाइक बुकिङ गर्ने ग्राहकले ५ हजारदेखि ४५ हजार रुपैयाँसम्म लक्की ड्रबाट छुट पाउने कम्पनीले जनाएको छ। छुट पाएको रकममा पनि कम्पनीले ५ हजार रुपैयाँ थप छुट दिने बताइएको छ। हालसम्म शोमा ९ जना ग्राहकले बाइक बुकिङ गरेका छन्।
बेनेल्लीको बाइक खरिदमा ५० हजारसम्म छुट
नाडा अटो शोमा बेनेल्लीले ५ वटा मोडलका बाइकहरु राखेको छ। जसमा २ लाख ७५ हजार रुपैयाँ पर्ने टिएनटी–१३५ देखि १७ लाख रुपैयाँ पर्ने टिआरकेसम्म रहेको कम्पनीले जनाएको छ। नाडाको लागि लक्षित गर्दै बेनेल्लीले ५ लाखदेखि ५० हजार रुपैयाँसम्म छुट ल्याएको जनाएको छ।
शोमा बजाजका ६ वटा मोडल
बजाजले ६ वटा मोडलको बाइक अटो शोमा राखेको छ। जसमा सबैभन्दा सस्तो पल्सर–१५० आर(टिडी) २ लाख ५७ हजार ९ सय रुपैयाँदेखि डामिनार–२०० एनएस ३ लाख १८ हजार ९ सय रुपैयाँसम्मका बाइकहरु रहेका छन्।
यामाहाको बाइक खरिदमा १ लाखसम्म छुट
अटो शोमा यामाहाले ५ मोडलका बाइकहरु बिक्रीमा राखेको छ। जसमा १ लाख ८४ हजार रुपैयाँको आरएबाई जेड–११३ देखि ९ लाख २४ हजार रुपैयाँसम्मका बाइकहरु रहेका छन्। जसमा शोलाई लक्षित गर्दै ७ हजार देखि १ लाख रुपैयाँसम्मको स्क्रयाच कुपन राखिएको छ।
सुजुकिका ५ वटा मोडल
सुजुकीले नाडा अटो शोमा ५ वटा मोडलका बाइक तथा स्कुटर राखेको छ। जसमा ३ मोडलका बाइक र २ मोडलका स्कुटर रहेका छन्। जसमा २ लाख ९४ हजार ९ सय रुपैयाँ पर्ने जीएक्सेर डिब्ल टोन देखि ३ लाख २९ हजार ९ सय रुपैयाँ पर्ने बाइक रहेका छन्।
त्यस्तै, १ लाख ८३ हजार ९ सय र २ लाख ५ हजार ९ सय रुपैयाँ पर्ने स्कुटर रहेका छन्। मेलामा स्कुटर खरिद वा बुकिङ गर्नेलाई ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर राखेको कम्पनीले जनाएको छ।
होन्डाका ९ मोडल उपलब्ध
नाडा अटो शोमा होन्डाले ९ वटा मोडल राखेको जनाएको छ। जसमा ५ वटा मोडल प्रदर्शन र ४ मोडल बिक्रिका लागि राखेको जनाएको छ। जसमा २ लाख रुपैयाँ पर्ने स्कुटर देखि ६ लाख रुपैयाँ पर्ने बाइकसम्म रहेको कम्पनीले जनाएको छ।
एसडब्लुएमको बाइक खरिदमा ५० हजार बराबरको सामान
इललियन ब्रान्ड एसडब्लुएमले ३ वटा मोडल सोमा राखेको छ। जसमा १४ लाख ५० हजार रुपैयाँ पर्ने ४०० सिसीको सिल्भर भेस मोडलदेखि ६ सय सिसीको २३ लाख रुपैयाँ पर्ने सुपर डियुल मोडलको बाइक रहेको छ। बाइक खरिदमा ५० हजार रुपैयाँ बराबरको हेल्मेट, रेनकोट लगायतको समान दिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।