राजविराज– सप्तरीको कञ्चनरुप र हनुमाननगर नगरपालिकामा केही दिनदेखि देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा 'एचवानएनवान' (स्वाईन फ्लु) र 'एचथ्रिएनटु' (हङकङ फ्लु)को भाईरस फेला परेको छ।
कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाईन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जनप्रसाद यादवले बताए। ८ जनाको रिपोर्ट आउन अझै बाँकी छ।
भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा १ हजार १ सय २२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। जसमध्ये २४ जनाको रगत र र्याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाईएको थियो। परीक्षणमा कञ्चनरुप नगरपालिका ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाईन फ्लुको संक्रमण भएको जानकारी यादवले दिए। कञ्चनरुपका अन्य ४ जना तथा हनुमाननगरका ६ जनामा हङकङ फ्लु फेला परेको छ।
कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो। ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चरुप तथा हनुमाननगर क्षेत्रमा हेल्थ क्याम्प स्थापना गरी बिरामीको रगत र र्याल परीक्षण गरिएको थियो।
ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको मृत्यु भएको छ। स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि विराटनगरस्थित ग्रिनक्रस हस्पिटममा भर्ना गरिएकी सरदारको उपचारकै क्रममा बुधवार बिहान मृत्यु भएको स्थानीयले बताएका छन्।
स्वाईन फ्लुकै कारण मरेको ग्यारेन्टी छैन
एकपछि अर्को गर्दै लगातार बिरामीको संख्या थपिँदै गएपछि स्थानीय त्रसित भएका छन्। तर, जिल्ला जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला निकायले भने चारै जनाको मृत्युको कारण स्वाईन फलु नै भएको एकिन साथ भन्न सक्ने अवस्था नरहेको जनाएका छन्। ‘मृत्यु भएका मध्ये कसैको पनि परीक्षण भएन’ जनस्वास्थ्य प्रमुख यादव भन्छन् ‘स्वाइन फ्लु वा हङकङ फ्लुकै कारण मरेको हो भन्ने एकिनसाथ भन्न सकिदैन।’
बाबाधामका तीर्थयात्रीबाट संक्रमण
भारतको झारखन्डस्थित बाबाधाम गएर आएका तीर्थयात्रीबाट स्वाईन फ्लुको संक्रमण फैलिएको आशंका गरिएको छ। बाबाधामबाट फर्किएका कञ्चनरुप नगरपालिका ४ कविलाशाकी बलसाल सरदारको मृत्यु भएको र वडा नं. ७ का हरिलाल साहमा स्वाईन फ्लुको संक्रमण देखिएपछि उतैबाट रोगको संक्रमण सुरु भएको हुन सक्ने आशंका गरिएको हो।
जिल्ला दैवी प्रकोप उद्दार समितिको आपत्कालीन बैठक
कञ्चनरुप तथा हनुमाननगर नगरपालिकामा स्वाईन फ्लु र हङकङ फ्लुको भाईरस फेला परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिको आपत्कालीन बैठक बसको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा हेल्प डेस्क राख्ने विषयमा छलफल बैठकमा भएको बताइएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षतामा बैठक बसेको हो ।
सजग रहन आग्रह
जिल्ला दैवी प्रकोप उद्दार समितिले प्रभावित क्षेत्रमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। स्वाईन फ्लु तथा हङकङ फ्लु फोहोर तथा भिडभाडका कारण चाँडो फैलने भएकाले भीडभाडमा सहभागी नहुन, कसैसँग हात नमिलाउन, सरसफाईमा ध्यान दिन र बिरामीलाई सुरक्षित स्थानमा राख्न प्रजिअ पौडेलले आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।