काठमाडौं- नेत्रबहादुर चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय पोलिटब्युरो सदस्य उमा भुजेललाई आज सर्वोच्च अदालतमा उपस्थित गराइएको छ।
प्रकाण्डलाई दाङबाट नेपालगन्ज हुँदै आज विमानबाट काठमाडौं ल्याइएको थियो। उनलाई शुक्रबार भोजपुरबाट दाङ लगिएको थियो। जिल्ला अदालत दाङले ८ दिनको म्याद तोके पनि नसकिँदै सर्वोच्चले काठमाडौं झिकाउन पत्र काटेपछि उनलाई उपस्थित गराइएको हो।
प्रदेश तथा प्रतिनिधिसभाको चुनावका बेला कांग्रेसले आयोजना गरेको सभालाई बिथोल्न बम विस्फोट गराएको र म्यादी प्रहरीको हत्या गरेको प्रकाण्डलाई आरोप छ।
भुजेललाई भने नुवाकोटबाट झिकाइएको हो। गत बैसाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका ६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा उनी पहिलो पटक भदौ १२ गते पक्राउ परेकी थिइन्। सर्वोच्च अदालतको आदेशअनुसार भदौ २२ गते रिहा भएलगत्तै पुन: पक्राउ परेकी उनलाई नुवाकोट लगिएको थियो।
दुवैको सुनुवाइ सर्वोच्चमा भोलिदेखि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।