काठमाडौं–“कर्मचारी तु. चाहियो। शतप्रतिशत रोजगारीको ग्यारेन्टी। घरमै बसेर पनि काम गर्न सकिने। पढे/नपढेका सबैलाई अवसर। न्यूनतम १७ हजारदेखि अधिकतम ४० हजार रुपैयाँसम्म तलब।”
रोजगारीको खोजीमा भौंतारिइरहेका रामेछाप दोरम्बाका उमेश घिसिङलाई रोजगारीको ग्यारेन्टी गरिएको यस्तो पर्चाले निकै आकर्षित गर्यो। १७ हजारदेखि ४० हजारसम्म कमाई हुने लोभले उनी फोन नम्बर पछ्याउँदै ‘रोजगारदाता’ को कार्यालयसम्म पुगे।
कार्यालयमा उनलाई २ सय रुपैयाँको फर्म भर्न लगाइयो । ३ हजार सर्भिस चार्ज समेत जोडेर उनीसँग ३२ सय रुपैयाँ असुलियो। तर, आकर्षक तलबको लोभले उमेशलाई यो रकम केही जस्तो लागेन।
उनलाई मार्केटिङको काम लगाइयो। उनले एक महिना काम गरे, तर पर्चामा उल्लेख भएअनुसार कमाई भएन। महिना मर्यो तलब पाएनन्। बल्ल थाहा भयो– उनी ठगिइसकेका रहेछन्।
“विना अन्तर्वार्ता सतप्रतिशत रोजगारीको ग्यारेन्टी सहितको विज्ञापन गरिएको हुन्छ, ठगी धन्दा भनेर थाहा नै हुँदैन”, उनले भने, “एक/डेढ महिना काम गरेपछि जब तलब थाप्ने बेला हुन्छ, बल्ल पो ठगिएको थाहा हुन्छ।” घिसिङले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने यस्ता पर्चामा विश्वास नगर्न युवाहरुलाई अनुरोध समेत गरेका छन्।
उमेश त एक प्रतिनिधि पात्र मात्र हुन्। चोक–चोकमा बसेर पर्चा बाँड्दै बेरोजगार युवालाई ठगी गर्ने धन्दा राजधानीमा निकै मौलाएको छ ।विभिन्न जब प्लेसमेन्टको नाममा खोलिएका अधिकांश संस्थाले पर्चालाई बेरोजगार युवा ठग्ने सजिलो माध्यम बनाएका छन्।
बेरोजगार युवाको पीडा बुझ्नुको साटो सोझा सिधा युवालाई पारिश्रमिक नै नदिई दिनभर रापिलो घाममा सुकाएर लूट्न उद्यत देखिन्छन् जब प्लेसमेन्टका सञ्चालकहरु।
राजधानीका पुतलीसडक, सुन्धारा, चाबहिल, कोटेश्वर, महराजगञ्ज, बानेश्वर, जावलाखेल जस्ता मुख्य चोकमा बसेर रोजगारीको अवसर भन्दै पर्चा पम्प्लेट बाँड्दै गरेको भेटिन्छ। सडकको छेउका बिजुलीका पोल र पर्खाल पनि यस्तै प्रकृतिका विज्ञापन उल्लेखित पर्चा पम्प्लेटले रंगिन बनेका छ। एउटै पर्चामा लगभग १ सय ५० भन्दा बढी रोजगारका अवसर उल्लेख गरेको पाइन्छ।
बागबजारस्थित भक्तपुर बसपार्क अगाडि एक युवती रोजगारीको विज्ञापन गरिएको पर्चा बाँड्दै थिइन्। त्यो पर्चामा उल्लेख गरिएको नम्बरमा फोन गरेर बागबजारमै रहेको गोल्डेन लाइफ नेपाल नामक ‘रोजगारदाता’ संस्थाको कार्यालयमा पुग्दा तीन जना युवा कार्यालयमा पुगिसकेका थिए। बागबजारबाटै फोन गरेका उनीहरु फोनमा सबै कुरा बताउन नमिल्ने जवाफ पाएपछि रोजगारीका बारेमा बुझ्न कार्यालयमै पुगेका थिए।
शुरुमै २ सयको फर्म र ३ हजार सर्भिस चार्जको कुरा सुनेर उनीहरु झस्किए । कार्यालय कर्मचारीका मिठा–मिठा आश्वासनले उनीहरुलाई पगाल्न सकिरहेको छैन। आमा–बाबुले घरबाट पठाएको पैसा खेर जाने हो कि भन्ने उनीहरुलाई शंका छ।
संंस्थाकी संस्थापक कल्पना सेन अल्मलिएर बसेका युवाहरुको मन जित्ने प्रयत्नमा छिन्– “नो इन्टरभ्यू, सतप्रतिशत रोजगार, तपाइँहरुलाई पैसा कमाउने विचार छ भने गर्नुहोस्, नभए मेरो भन्नु केही छैन।”
बाहिर सडकमा रोजगारीको पर्चा पाएपछि पढ्दै हिंडिरहेका १० जना युवाहरुलाई यस्ता पर्चाको विषयमा प्रश्न गर्दा धेरैजसोले यस्ता पर्चा बेरोजगार युवा ठग्ने उपाय भएको बताए। “यो सबै फेक हो, मैले पनि शुरुमा यस्तै पर्चा पढेर ठगिएको थिएँ”, एक युवाले भने।
पत्रपत्रिकामा पनि ठगीका विज्ञापन
बेरोजगारी समस्याको फाइदा उठाएर रोजगारीका लागि सुनौलो अवसर भन्दै कर्मचारी माग्ने र ठग्ने संघ संस्थाका विज्ञापन पत्रपत्रिकामा पनि उत्तिकै देखिन्छन्।
नाम चलेका पत्रिकाले समेत दैनिक रुपमा ‘अर्जेन्ट’ र ‘आवश्यकता’ भनिएका वर्गीकृतडिस्प्ले विज्ञापनलाई प्राथमिकता दिने गरेका छन्। “पत्रपत्रिकामा छापिएका विज्ञापन पढेर बेरोजगार युवाहरु लोभिन्छन् र ठगिन्छन्”, एक भुक्तभोगी भन्छन्, “सडकमा बाँडिएका पर्चादेखि पत्रपत्रिकामा छापिएका विज्ञापनसम्म पढेर ठगिने युवाहरु धेरै छन्। यस्तो खुलेआम ठगी रोक्न कसैले पनि चासो दिएका पाइँदैन।”
पत्रिकाका वर्गीकृत डिस्प्लेमा कुक, वेटर, सेक्युरिटी गार्ड, रिसेप्सनिष्ट, डाटा इन्ट्रीदेखि सेल्समेन तथा माकेर्टिङसम्म रोजगारीका अवसर प्रकाशित गरिएका हुन्छन्।
संख्या तोकेर दिइएका सबैजसो विज्ञापनमा रोजगारको स्वरुप प्रायः एउटै देखिन्छ। विज्ञापनको पुच्छरमा सम्पर्क नम्बर उल्लेख गरिएको हुन्छ। त्यही सम्पर्क नम्बर डायल गर्दै जागिर पाउने आशमा युवाहरु कार्यालयसम्म पुग्छन् र अन्त्यमा ठगिएपछि पछुताउँदै फर्कन्छन्।
रोजगारीको खोजीमा दैनिक २० देखि २५ जना युवा आफ्नो कार्यालयमा आउने गरेको जब प्लेसमेन्टका नाममा खोलिएको एक कार्यालयका सञ्चालकले बताए।
कारबाहीको विषय किन अघि बढेन
यसरी लगातार राजधानीमै बेरोजगार युवाहरु ठगिए पनि न अहिलेसम्म कसैले उजुरी गरेको छ, न कसैलाई कारबाही भएको छ।
महानगरीय अपराध महाशाखाका अनुसार विज्ञापनको आधारमा युवाहरु ठगिएको विषयमा कुनै उजुरी परेको छैन। पीडितहरु प्रमाणसहित उजुरी गर्न आए मात्र ठगलाई कारबाहीको प्रक्रिया अगाडि बढाउन सकिने महाशाखाले जनाएको छ।
अहिलेसम्म यस्तो ठगी सम्बन्धी कुनै उजुरी नपरेको र उजुरी परेमा आवश्यक प्रक्रिया अगाडि बढाइने राष्ट्रिय युवा परिषद्का सूचना अधिकृत ध्रुवराज पौडेलले बताए। उनले भने, “युवाहरुले कहिल्यै ठगिएको उजुरी लिएर आएका छैनन्। हामीले युवाहरुकै लागि युवापरिषद्को वेबसाइटमा युवा चेतनाका विषयहरु पनि समेटेका छौं ।हामीले युवालाई विना व्याज विना धितो कर्जाको व्यवस्था समेतगरेका छौं। युवाहरु प्रविधिमैत्री बन्नु पर्यो।”
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।