काठमाडौं– सरकारले सबै भूकम्पपीडितलाई चालू आर्थिक वर्ष (आव) २०७५/७६ भित्रै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको छ। हालसम्म करिब सबा २ लाख भूकम्पपीडितले मात्रै पूरा किस्ता अनुदान पाएका छन्। कुल लाभग्राही संख्या भने करिब पौने ९ लाख छ। बाँकी लाभग्राहीलाई चालू आवमै पूरा किस्ताबापतको रकम वितरण गर्ने निर्णय सरकारले गरेको हो।
पुनर्निर्माण प्राधिकरणको बिहीबार बसेको निर्देशक समितिको बैठकले शहरी क्षेत्र, परम्परागत बस्ती र बस्ती स्थानान्तरणबाहेकका हकमा सबै लाभग्राहीलाई चालू आवमै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको हो।
त्यस्तै, पुनर्निर्माणका काम अब स्थानीय तहबाटै अघि बढाउने र त्यसको अनुगमन जिल्ला तह (जिल्ला समन्वय समिति) बाट गर्ने निर्णयसमेत भएको छ। जसअनुसार पुनर्निर्माणको निरीक्षण, प्रमाणीकरण, अनुदान रकम वितरण लगायतका काम स्थानीय तहबाट र अनुगमनको काम जिल्ला समन्वय समितिबाट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।