काठमाडौं- महिला भलिबल लिग आगामी असोज दोस्रो सातादेखि काठमाडौँमा हुने भएको छ।
नेपाल भलिबल सङ्घ र भारतको नयाँ दिल्लीस्थित आधीअबाधी फाउण्डेशनको संयुक्त आयोजनामा ‘आधीअबाधी महिला भलिबल लिग’ हुन लागेको हो। उक्त प्रतियोगिता राखेपको कभर्डहलमा असोज १३ देखि १७ गतेसम्म हुने नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए। प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यु डायमण्ड क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको समूह ‘ए’ मा चितवन, न्यु डायमण्ड र आर्मी तथा समूह ‘बी’मा पुलिस, एपिएफ र पोखरा छन्। लिगको विजेताले रु ६ लाख, उपविजेताले रु ३ लाख तथा तेस्रो हुनेले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्। यो भलिबलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई स्कुटरसहित रु ५० हजार पुरस्कार दिइनेछ।
प्रतियोगितामा सहभागी टोलीले तीन/तीन विदेशी खेलाडीसमेत राख्न पाउने महासचिव चन्दले जानकारी दिए। प्रतियोगिता आयोजना गर्न सङ्घ र आधीअबाधीबीच गत साउन १७ गते १० वर्षका लागि सम्झौता भएको थियो। सो सम्झौताअनुसार आधीअबाधीले नेपाल भलिबल सङ्घलाई प्रत्येक वर्ष रु १५ लाख प्रदान गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।