एजेन्सी– ज्याकी तामिनेन धेरै विद्यार्थीलाई पढाउँछन्। उनका धेरैजसो विद्यार्थी परीक्षाको समयमा रातभर जागै बस्छन्। परीक्षाको समयमा जति धेरै पढ्यो त्यति नै बढी स्मरण हुने र परीक्षामा राम्रो अंक प्राप्त गर्न सकिने धेरै विद्यार्थीको विश्वास हुन्छ। त्यही भएर कडा परिश्रम गर्ने र रातभर नसुती पढ्ने गर्छन् विद्यार्थी।
यस्तो समस्या उनका विद्यार्थीमा मात्र होइन, धेरै विद्यार्थीको विश्वास उनका विद्यार्थीसँग मिल्दोजुल्दो हुने गरेको पाइएको छ।
बेलायतको रोयल होलोवे विश्वविद्यालयमा मनोविज्ञान विषयका प्राध्यापक समेत रहेका तामिनेन रातभर जागै बसेर पढ्नु गलत मान्छन्। नसुती नसुती लामो समयसम्म बस्दा सिकाइ स्थायी नहुने भएकाले त्यसो नगर्न सुझाव दिन्छन् उनी।
तामिनेनको समूहले अहिले एउटा अध्ययन गर्दैछ। रातभर नसुतेका र विद्यार्थी र प्रशस्त निद्रा पुुर्याएका विद्यार्थीको सिकाइ क्षमता र स्मरण शक्ति कस्तो हुन्छ भनेर पत्ता लगाउनु उक्त अध्ययनको उद्देश्य हो। अध्ययन जारी भए पनि केही तथ्य पत्ता लगाएको छ, उक्त अध्ययनले।
परीक्षाको समयमा टुप्पी कसेर पढ्ने विद्यार्थी अरु समयमा भने प्रशस्तै सुत्ने गर्छन्। विद्यार्थीहरुका लागि निद्रा आवश्यक तत्व हुन्छ। निद्रा र सिकाइबीच गहिरो सम्बन्ध हुने तामिनेनको दाबी छ। विशेषगरी दोस्रो भाषा सिक्ने विद्यार्थीलाई धेरै निद्रा लाग्छ। दोस्रो भाषा सिक्दा मस्तिष्कमा धेरै दबाब पर्छ। मस्तिष्कको आरामका लागि पनि सुत्नु आवश्यक हुन्छ।
साधारणतया सिक्ने उमेर समूहका विद्यार्थीमा पनि मस्तिष्कको परिश्रम बढी हुने भएकोले धेरै निद्रा लाग्ने गर्छ। सिकेका कुरा लामो समयसम्म स्मरणमा रहनका लागि पनि निद्रा आवश्यक हुन्छ । प्रशस्त निद्रा पुगेको विद्यार्थी निद्रा नपुगेका विद्यार्थीको भन्दा सिकाइ क्षमता चनाखो हुन्छ।
सिकेका कुरा दिमागमा मिलाएर राखिएको हुनुपर्छ। मिलाएर राखिएका कुरा मात्र चाहिएको बेला तत्काल प्रयोग ल्याउन गर्न सकिन्छ। यसरी मिलाएर राख्नका लागि निद्रा अत्यावश्यक तत्व हो। तामिनेन लगायत अन्य मनोवैज्ञानिकले गरेको अध्ययनको निष्कर्ष छ।
लामो समयसम्म नसुतेका विद्यार्थीको सिकाइ र स्मरण क्षमता कमजोर हुने निष्कर्ष निकालेका उनीहरुको समूहले कमजोर सिकाइ स्तर कसरी सुधार गर्न सकिन्छ भनेर पनि अध्ययन गरेका छन्। प्रशस्त निद्रा पुर्याउन पाएमा सिकाइ क्षमता कमजोर भएका विद्यार्थीको पनि सिकाइ गुणस्तरीय सुधार हुने निष्कर्ष निकालेको छ।
‘निद्रा वास्तवमा नै सिकाइको मुख्य पक्ष हो,’ तामिनेनले उल्लेख गरेका छन्। ‘अध्ययन नगर्ने मानिसको मस्तिष्क पनि अध्ययन गरिरहेको हुन्छ। जबसम्म प्रशस्त निद्रा पुग्दैन तबसम्म अध्यययनको पूर्ण प्रभाव पर्न सक्दैन। तसर्थ सिकाइका लागि निद्रा महत्वपूर्ण पक्ष हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।