काठमाडौं– सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तेस्रो पटक सर्वाेच्च उपस्थित गराउने आदेश गरेको छ।
सर्वोच्चले प्रकाण्डका छोरा वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा पहिलो सुनुवाइ गर्दै २४ घन्टाभित्र पेश गर्न आदेश गरेको हो।
यसअघि दुई पटक सर्वोच्चले यस्तै आदेश गरेको थियो। पहिलो पटक सर्वोच्चले ४८ घन्टाभित्र प्रकाण्डलाई पेश गर्न आदेश गरेको थियो।
प्रकाउ पर्ने र छुट्ने श्रृखला चलिरहेको समयमा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको इजलाशले बाटोको म्याद बाहेक २४ घन्टाभित्र उपस्थित गराउन भनेको हो। प्रकाण्डका छोरा वीरेन्द्रले शुक्रबार तेस्रो निवेदन दर्ता गरेका थिए।
दुई पटकसम्म सर्वोच्चले रिहा गर्न आदेश दिने तर प्रहरीले अदालतबाट बाहिरिए लगत्तै पक्राउ गर्दै आएको छ। हाल उनी नुवाकोट प्रहरी अनुसन्धानमा रहेका छन्। स्काइभेटरमा आगजनी गरेको आरोपमा उनलाई अनुसन्धान गर्न नुवाकोट लगिएको हो।
बिहीबार मात्र सर्वोच्चले उनलाई पक्राउ गर्दा हालै लागू भएको मुलुकी संहिताका व्यवस्थाहरु ख्याल गर्न नेपाल प्रहरी र सरकारलाई आग्रह गरेको थियो। मुलुकी फौजदारी संहिताको कानुनी व्यवस्था समेत पालना गरी उचित कारण र आधार बिना पक्राउ गर्ने कार्य नगर्न समेत प्रहरीलाई सर्वोच्चको आदेशमा भनेको थियो।
मुलुकी फौजदारी संहिता लागू भएको दिनमा उनलाई अदालतले गैरकानुनी पक्राउ गरेको भनी आदेश जारी गरेको अवस्था पुन सोही कार्य गरेको भन्दै मुलुकी संहिताको व्यवस्था ख्याल गर्न आदेश गरेको थियो। पहिलो पटक भदौ १ गते उनी पक्राउ परि रिहा भएका थिए।
न्यायाधीशद्वय दीपकुमार कार्की र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई बन्दीप्रत्यक्षीकरणको निवेदनमा फैसला गर्दै रिहा गर्न आदेश गरेको थियो।
क्रसरमा आगजनी गरेको अभियोगमा काभ्रे सदरमुकाम धुलिखेल प्रहरीले उनलाई हिरासतमा राखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।