काठमाडौं– कञ्चनपुरमा गोली लागी घाइतेलाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अस्पताल पुगेका छन्। शुक्रबार बिहान उपचाररहत घाइते अर्जुन भण्डारालाई भेट्न उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगेका हुन्।
भेटको क्रममा उनले घाइतेहरुको सरकारले निशुल्क उपचार गर्ने बताए।
१३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई जोगाउन खोजेको भन्दै महेन्द्रनगरमा बिहीबार भएको आन्दोलनमा गोली चलेको थियो। जसक्रममा ४ जना घाइते भएका छन्। घाइतेमध्ये गम्भीर रहेका भण्डारालाई काठमाडौं ल्याइएको छ।
घटनाको विस्तृत अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव हरि प्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ।
आज महेन्द्रनगरमा आन्दोलनरत पक्षसँग वार्ता हुने सम्भवना छ।
प्रहरीले बलात्कार र हत्याको आरोपमा स्थानीय दिलीपसिंह बिष्टलाई पक्राउ गरेकोमा उनी बास्तविक अपराधी नभएको स्थानीयको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।