सिओल– सन् १९५०–५३ को कोरियाली युद्धबाट छुट्टिएका परिवारजनसँग भेटघाट गर्न सोमबार ८९ जना दक्षिण कोरियालीहरु उत्तर कोरिया प्रस्थान गरेका छन्।
दक्षिण र उत्तर कोरियाबीच साताव्यापी पारिवारिक पुनर्मिलन यही सोमबारदेखि सुरु भएको हो। सन् २०१५ अक्टोबरयता यस्तो पुनर्मिलन कार्यक्रम हुन सकेको थिएन।
उत्तर कोरियाको पूर्वी तटमा रहेको माउन्ट कुमगाङ रिसोर्टमा यो भेटघाटको व्यवस्था मिलाइएको छ। दक्षिण कोरियाको उत्तरपूर्वी तटीय सहर सोक्चोबाट सोमबार बिहानै झण्डै ३० वटा बस कुमगाङतर्फ प्रस्थान गरेका छन्। यी बसमा बुढाबुढी सहित उनीहरुका सहयोगी गरी ३ सयभन्दा बढी सहभागी छन्।
केही अशक्त व्यक्तिहरु ह्वीलचेयरमा छन् वा अरु आफन्तको सहयोगमा त्यहाँ गएका छन्। आफ्ना उत्तर कोरियामा रहेका आफन्तलाई दिन उपहार पनि उनीहरुले साथमा लगेका छन्।
उत्तर कोरिया प्रस्थान गर्नुअघि उनीहरु उत्साहित मुद्रामा बसमा चढेका थिए। “राति ९ बजे सुतेको म आज बिहान ३ बजे नै ब्युझिएँ,” एकजना ७० वर्षीय वयोवृद्ध शिन जोङ–हो ले भने। “मलाई कुनै किसिमको स्वास्थ्य समस्या छैन। सायद त्यहाँ पुग्दासम्म मलाई केही हुने छैन, र सहज रुपमा फर्कनेछु।”
सोमबारको पुनर्मिलन कार्यक्रम स्थानीय समयअनुसार अपराह्न ३ बजेका लागि तोकिएको छ। उत्तर कोरियाली सरकारका तर्फबाट खानाको आयोजना गरिएको छ।
दोस्रो दिन, उनीहरुले आफ्ना परिवारजनसँग दोस्रो पटक भेट गर्न पाउनेछन् र सँगै खाना खानेछन्। तीन दिन रहँदा उनीहरुले आफ्ना परिवारजनसँग छ पटक भेट्न पाउँछन् र यो करिब ११ घण्टाको अवधि हुनेछ। उनीहरु बुधबार फर्कनेछन्।
दक्षिण कोरियालीहरु लगभग ७० र ८० वर्ष उमेरका छन् र एकजना सबैभन्दा बढी उमेर १ सय १ वर्षका छन्। धेरैजसो व्यक्तिहरु वृद्धवृद्धा रहेकाले बाबुआमा, छोराछोरीबीचको पुनर्मिलन भने त्यति सम्भव देखिन्न।
सरकारले वृद्धवृद्धाको हेरचाह र कुनै जरुरी परेको अवस्थामा उपचार गर्नेगरी करिब ३० जनाको चिकित्सा टोली समेत सँगै पठाएको छ।
गत अप्रिलमा दुबै कोरियाका नेताहरुबीचको शिखर बैठक पश्चात यस्तो पारिवारिक पुनर्मिलन सम्भव भएको हो। सन् २००० यता उत्तर र दक्षिण कोरियाबीचको प्रत्यक्ष वार्ता सुरु भएयता यो २० औं पुनर्मिलन कार्यक्रम हो।
करिब ५७ हजार दक्षिण कोरियालीहरु आफ्ना उत्तर कोरियामा रहेका आफन्तलाई भेट गर्न प्रतिक्षारत छन्। कोरियाली युद्ध सन् १९५३ मै समाप्त भएपनि दुवै कोरिया प्राविधिक रुपमा अद्यापि युद्धकै स्थितिमा रहेका छन्। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।