काठमाडौँ- वैदेशिक रोजगारलाई थप व्यवस्थित र सुरक्षित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले विद्युतीय प्रणाली सञ्चालनमा ल्याउने भएको छ।
वैदेशिक रोजगारीमा जाने र फर्किने कामदारको सम्पूर्ण विवरण संकलन गर्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याउन लागिएको मन्त्रालयको भनाइ छ। व्यक्तिगत विवरण, नाम थर ठेगाना, पासपोर्ट नम्बर, काम गर्न जान लागेको कम्पनीको विवरण, श्रम स्वीकृतिको अवधि, पारिश्रमिक सुविधा लगायताका सबै विवरण अनलाइनमा क्लिक गर्दा थाहा हुने गरी प्रणाली विकास भइरहेको श्रम मन्त्रालयले जानकारी दिएको छ।
श्रम मन्त्रालय, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय, वैदेशिक रोजगार व्यवसायी संघ, राहदानी विभाग, विदेशस्थित कूटनीतिक नियोग र अध्यागमन विभागमा लिंक हुनेगरी अनलाइन सञ्चालनमा ल्याउने मन्त्रालयले जानकारी दिएको छ।
वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवाला संस्थालाई एउटै अनलाइन प्रणालीमा जोड्ने योजनामा रहेको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले बताए।
भदौ दोस्रो सातादेखि अनलाइन प्रणाली सुरु गर्ने तयारीमा मन्त्रालय रहेको उनको भनाइ छ।
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको तथ्यांक श्रम स्वीकृति वितरण गरेको आधारमा राख्दै आएको छ। तर, श्रम रिइन्ट्री गरेर जाने कामदारको तथ्यांक राख्न सरकारले सकेको छैन। यस्तै, विदेशमा सिकेको सिपको तथ्यांक पनि सरकारसँग छैन।
देशमा रोजगारीको पर्याप्त अवसर र उचित वातावरण नभएपछि युवा शक्तिको विदेश पलायन हुने क्रम वार्षिक रुपमा बढ्दो छ। विदेशिने क्रममा युवाले अनेक समस्या भोगिरहेका छन्।
वैदेशिक रोजगारीमा जानेको विवरण मन्त्रालयसँग भए पनि फर्कने र वैदेशिक रोजगारीमा जाने युवा स्वदेशमा फर्किसकेपछि उनीहरुले सिपका आधारमा काम नपाउँदा पुन: रोजगारीमा जाने गरेका छन्।
विदेशमा मजदुरी गर्ने सम्पूर्ण कामदारको नामथर, ठेगाना, राहदानी नम्बरलगायत विदेशमा गरेको काम, उसको अनुभव लगायत सम्पूर्ण जानकारी राख्न अनलाइन प्रणालीको थालनी गर्न लागिएको श्रममन्त्री गोर्कण विष्टले सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन्।
हाल वैदेशिक रोजगारीमा ३३ लाख नेपाली युवा कार्यरत रहेको सरकारको अनुमान छ। भने सरकारसँग श्रम स्वीकृति लिएर करिब ५३ लाख नेपाली युवा विभिन्न देश पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।