काठमाडौं– नेपाल आयल निगमले एक दिन मात्रै ढुवानी व्यवस्था अवरोध भए पेट्रोलियम पदार्थको अभाव हुने स्पष्ट पारेको छ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भण्डारण क्षमता अभावमा एक दिन मात्रै ढुवानी व्यवस्था अवरोध भए देशभर पेट्रोलियम पदार्थको अभाव हुने प्रष्ट पारेका हुन्।
उनले शुक्रबार पत्रकार सम्मेलन गरी हाल निगमसँग पेट्रोल करिब ५ दिन, डिजेल ८ दिन र हवाई इन्धन करिब १० दिन मात्रै धान्ने अवस्था रहेको पनि जानकारी दिए। पेट्रोलियम पदार्थको भण्डारण केन्द्र स्थापनाको काम अघि नबढेपछि निगमले भण्डारण क्षमताको अभावमा एक दिन मात्रै ढुवानी अवरोध भए पेट्रोलियम पदार्थको अभाव देशभर हुने जनाएको हो।
निगमले हालै भारतीय आयल निगमको मूल्य सूचीअनुसार १५ दिनमा करिब २५ करोड रुपैयाँ घाटा हुने देखिएको पनि जानकारी गराएको छ। निगमका प्रवक्ता गोइतले हवाई इन्धनमा भने घाटा नभएको पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।