काठमाडौं– सरकारले भूकम्प पीडितलाई शुन्य ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले भूकम्प पीडितलाई शुन्य ब्याजदरमा पुनः कर्जा प्रवाह गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकमार्फत मिलाइएको जानकारी दिए।
शुक्रबार अर्थ मन्त्रालयको श्रावण महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्दै उनले भूकम्प पीडितले लिएको ऋणको ब्याज २ प्रतिशत भन्दा नबढ्ने पनि स्पष्ट पारे। भूकम्प पीडितले विभिन्न बैंकबाट लिएको ऋणको ब्याज २ प्रतिशतभन्दा बढी नलिन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिइएको अर्थमन्त्री खतिवडाले बताए।
अर्थ मन्त्रालयले श्रावण महिनामा अघिल्लो वर्षको सोही अवधिको भन्दा ३७ प्रतिशत बढी राजस्व संकलन गर्न पनि सफल भएको छ। अर्थमन्त्री खतिवडाले चालू आर्थिक वर्षको पहिलो महिना श्रावणमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए।
सरकारले श्रावण महिनामा २६ अर्ब रुपैयाँ खर्च गरेको पनि अर्थ मन्त्रालयले जनाएको छ । त्यसमध्ये १६ अर्ब स्थानीय र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए।
अर्थ मन्त्रालयले श्रावण महिनामा मात्रै ११ वटा कर कार्यालय थप गरिएको पनि जनाएको छ। अर्थमन्त्री खतिवडाले उखु किसानलाई उत्पादनको आधारमा अनुदान दिने कार्यविधि पनि तय गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।